बुटवल । पर्यटन प्रवद्र्धनका नाममा केवल नाराबाजी र गोष्ठीमै सीमित रहने प्रवृत्तिको आलोचना गर्दै अब व्यवहारिक रूपमा अघि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बुटवलमा आयोजित ‘समृद्धिको आधार : पर्यटन, पर्यटकीय गन्तव्य बुटवल’ विषयक गोष्ठीमा वक्ताहरूले पर्यटन क्षेत्रको सम्भावना पर्याप्त हुँदाहुँदै पनि नीति, योजना र कार्यान्वयनको अभावले अपेक्षित परिणाम नआएको बताएका हुन् ।
रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सम्पन्न गोष्ठीमा बोल्ने वक्ताहरूले सरकारको मुख ताकेर बसिरहनुभन्दा निजी क्षेत्र आफैँ अग्रसर भएर पर्यटन विकासमा होमिनुपर्ने धारणा राखे । पर्यटनले मात्र देशको आर्थिक रुपान्तरण सम्भव हुने भन्दै त्यसका लागि व्यवहारिक कार्ययोजना आवश्यक रहेको उनीहरूको जोड थियो ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा पर्यटनविद् डिबी गुरुङले कार्यपत्र प्रस्तुत गर्दै ‘पर्यटनको खोक्रो नारा अब काफी भइसकेको’ भन्दै अब एक्सनमा जाने समय आएको बताए । उनका अनुसार पर्यटन प्रवद्र्धनका लागि सुरक्षादेखि पूर्वाधार, यातायात, आवास, आतिथ्यता, संस्कृति, पर्यटकीय स्थल, गाइड, सूचना प्रविधि, खानपान र स्वच्छतासम्म सबै पक्ष समन्वयमा अघि बढ्नुपर्छ । “हामीसँग सम्भावना धेरै छन् तर तिनलाई व्यवस्थित रूपमा प्रयोग गर्न सकेका छैनौं,” उनले भने ।
गुरुङले पर्यटन प्रवद्र्धनका लागि दीर्घकालीन मास्टर प्लान निर्माण, पर्यटन दूत परिचालन, नेचर गाइड तथा टुर गाइड उत्पादन, स्थानीय तहमा पर्यटन समन्वय समिति गठन जस्ता काम तत्काल सुरु गर्नुपर्ने सुझाव दिए । उनले पर्यटनलाई केवल सेवा क्षेत्र नभई एक महत्वपूर्ण उद्योगको रूपमा विकास गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा टिप्पणी गर्दै युवराज घिमिरेले नेपालमा आउने पर्यटकमध्ये ६५ प्रतिशत मनोरञ्जनका लागि आउने भए पनि उनीहरूको बसाइँ छोटो र खर्च न्यून हुने गरेको बताए । “नेपाल आउने पर्यटक औसत ३-४ दिन मात्रै बस्छन् र करिब ५ हजार ९ सय रुपैयाँ मात्र खर्च गर्छन्, यसले अर्थतन्त्रमा उल्लेखनीय योगदान दिन सकेको छैन,” उनले भने । भाषागत समस्या, यातायात, सुरक्षा र सेवा गुणस्तरमा सुधार नगरेसम्म पर्यटनबाट अपेक्षित लाभ लिन नसकिने उनको धारणा थियो ।
नेपालमा पर्यटन क्षेत्रले कुल गार्हस्थ उत्पादनमा दुई प्रतिशतभन्दा कम योगदान दिइरहेको उल्लेख गर्दै उनले नीतिगत सुधार, संरचनागत परिवर्तन र निजी क्षेत्रमैत्री वातावरण आवश्यक रहेको बताए । साथै, होटल र पर्यटन व्यवसायलाई फरक-फरक दृष्टिकोणबाट हेरिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा संघका अध्यक्ष माधवकुमार खनालले बुटवलमा हाल ९ सयभन्दा बढी होटल सञ्चालनमा रहेको र करिब एक हजार पर्यटक अट्ने क्षमता रहेको जानकारी दिए । सरकारको मुख ताक्ने प्रवृत्ति त्यागेर निजी क्षेत्र आफैं योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उनले बताए । प्रदेश सरकारले पर्यटनलाई प्राथमिकतामा राखे पनि व्यवहारमा कार्यान्वयन कमजोर रहेको उनको टिप्पणी थियो ।
संघका महासचिव केशवराज कंडेलले नेपाली मौलिक कला, संस्कृति, खानपान र पहिचानलाई केन्द्रमा राख्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बुटवल सडक खाना महोत्सव-२०८२’ आयोजना गरिएको जानकारी दिए । उनले यस्ता कार्यक्रममार्फत स्थानीय रोजगारी सिर्जना र आर्थिक चलायमानता बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संघका सल्लाहकार माधव नेपाल, निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, सल्लाहकार महेन्द्र नारायण श्रेष्ठ, नेपाल उद्यान महासंघका अध्यक्ष खेम लुईटेल तथा कोषाध्यक्ष अर्जुन पोखरेलले पर्यटन क्षेत्रका विद्यमान कानुनी झन्झट, जनशक्ति अभाव र नीतिगत अस्पष्टता समाधान गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।
समग्रमा गोष्ठीले पर्यटनलाई नाराबाट व्यवहारमा उतार्न अब निजी क्षेत्र, सरकार र समुदायबीच सहकार्य अपरिहार्य भएको निष्कर्ष निकालेको छ ।




















प्रतिक्रिया