नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन र विशेष महाधिवेशनलाई सफल बनाउन बाँकेका कांग्रेस सभापति नारायण गौडेल र कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मीकीले आह्वान गरेका छन् ।
आज एक विज्ञप्ति प्रकाशित गर्दै जिल्ला सभापति गौडेल र केन्द्रीय सदस्य बाल्मीकीले पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतीहरुबारे गम्भीर निर्णय लिने यस विशेष अवसरमा बाँके जिल्लाबाट निर्वाचित सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरुको सक्रिय सहभागिता आवश्यक रहेको जनाएका छन् ।
उनीहरुले नेपाली कांग्रेसको ईतिहासमा अत्यन्तै महत्वपूर्ण मोडका रुपमा रहेको उल्लेख गर्दै विज्ञप्तिमा कठिन अवस्थामा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १७ को २ मा व्यवस्था भए बमोजिम विशेष महाभिवेशन यहि पौष २७ र २८ गते, काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने स्पष्ट पारेका छन् ।
‘नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठन मात्र होईन, यो लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘यस्तो ऐतिहासिक घडिमा तपाँईहरुको सहभागिता केवल औपचारिक उपस्थिती नभई पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशनसंग प्रत्यक्ष रुपमा जोडिएको कर्तव्य हो भन्नेमा विस्वस्त छौं।’
नेपाली कांग्रेस बाँकेको तर्फबाट विशेष महाधिवेशनमा अनिवार्य रुपमा उपस्थित भई महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न उनीहरुले अपिल पनि गरेका छन् ।
‘हामी सबैको साझा सहभागिताबाट मात्र नेपाली कांग्रेसलाई थप बलियो, विश्वसनिय र जनमुखि बनाउन सकिने छ। लोकतन्त्रको रक्षा र पार्टीको सुदृढ भविष्यका लागि तपाईहरुको सक्रिय उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ।’ विज्ञप्तिमा भनिएको छ ।



















प्रतिक्रिया