२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बाँकेका थारू बस्तीमा माघीको चहलपहल



राँझा । बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ । नयाँ वर्षको रूपमा लिइने माघीले थारू बस्तीमा रौनक बढाएको छ । थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका-३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले बताए ।

‘माघीका अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच थारू गाउँमा सुरु भएका छन्’, थारूले भने, ‘गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणासमेत उठाउने चलन छ ।’

थारू समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्था लागू हुने भएकाले यसलाई विशेष रूपमा हेरिने गरेको बाँके बैजनाथका थारू अगुवा चन्द्रबहादुर चौधरीले बताए। माघीलाई थारू समुदायमा आआफ्नै तरिकाले मनाउने तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया भने एक वर्षलाई एउटै प्रकृतिको हुने हुँदा यसले रोचकता बढाएको चौधरीले बताए ।

‘माघी आएसँगै थारूगाउँमा माघीको रौनक र चहलपहल छुट्टै बढेको छ’, थारू अगुवा चौधरीले भने, ‘नयाँ पुस्तामा संस्कृतिको संरक्षण र परिस्कृत गर्ने सोच पनि पलाएको छ ।’

माघी थारू समुदायको चाडमात्र नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ अगुवा (मतहवा, भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीतिनियम निर्माण गर्ने पर्वका रूपमा रहेको चौधरीको भनाइ छ । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीको यी जिल्लाहरूमा अझ विशेष महत्वकासाथ मनाउने परम्परा छ ।

गाउँको अगुवा कन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने रु लेनदेन घर सल्लाहलगायत विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षका रूपमा पनि थारू समुदायले लिने गरेको राप्ती सोनारी-३ का जननिर्वाचित वडाध्यक्ष मीनकुमार थारूले बताए ।

‘थारू समुदायमा विशेष गरेर पुसको अन्तिम दिनदेखि माघीको प्रभाव देखिने गर्दछ । अहिले थारू गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, पिसान कुटान, रङरोगन, जाँड बनाउने ढिक्री पकाउने तथा खानाका अन्य प्रकार निर्माण पूरा गरिएको छ’, उनले भने, ‘माघीकै अवसरमा विभिन्न ठाउँमा मेला महोत्सवकोसमेत आयोजना हुने गर्दछन् ।’

उनका अनुसार थारू समुदायमा माघ १ गतेको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिसहरू एकठाउँमा जम्मा भएर गाउँको एक ठाउँमा आगो बाली रातभर आगो तापेर रमाइलो गर्दछन् । राति आगो ताप्ने, भाले बासेसँगै नदी, खोलामा नुहाउने गर्दछन् ।

नुहाएर आफूभन्दा ठूलासँग आशीर्वाद लिने र सानालाई स्नेह गर्ने चलन छ । माघ २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीतिनियम बनाउने चलन छ । त्यसपछि केही दिन नाचगान गरेर पर्व मनाउने चलन छ ।

माघीकै अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच नाचिने गरिन्छ । माघी पर्वसँगै थारू संस्कृति संरक्षण र रमाइलोको लागि मगौटा नाच गान सुरु भएको बाँके राप्ती सोनारी-२ कचनापुरका रामदास थारूले जानकारी दिए ।

भुवरभवानीमा माघी मेलाको तयारी

बाँकेको राप्तीसोनारी गाउँपालिका-३ बैजापुरमा अवस्थित भुवरभवानी मन्दिरमा माघी मेलाको तयारी गरिएको छ । थारू समुदायको मुख्यपर्व माघीको अवसरमा यही पुस ३० गतेदेखि माघ ४ गतेसम्म भुवरभवानी माघी मेला सञ्चालनको तयारी गरिएको राप्तीसोनारी गाउँपालिका-३ का वडाध्यक्ष एवं मेलाका संरक्षक मीनकुमार थारूले जानकारी दिए ।

उनका अनुसार यस वर्ष मेलालाई थप व्यवस्थित गर्दै मन्दिर संरक्षण तथा संवर्द्धन समितिले नै मेला सञ्चालन गर्ने भएको छ । मेलामा थारू समुदायको कला, संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति र स्थानीय उत्पादन व्यापारिक कक्ष राखिने छ ।

विसं २०१३ मा स्थापना भएको भुवरभवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरका रूपमा परिचित छ । मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ दर्शक तथा भक्तजन आउने गरेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारूले बताइन् ।

‘भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ’, उपाध्यक्ष थारूले भुवरभवानी माघी मेलाबारे भनिन्, ‘धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।’

उनले भुवरभवानी मन्दिर राप्तीसोनारीको प्रमुख ऐतिहासिक धार्मिक धरोहर रहेको बताउँदै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ८ : २४ बजे

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल