२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन



चितवन । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे (एनएच–७७) आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरे ।

स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माणकार्य सात वर्षअघि सुरु गरिएको थियो । विभिन्न चरणमा सम्पन्न हुँदै आएको उक्त सडकको अधिकांश खण्डमा काम सम्पन्न भइसकेको छ । केही स्थानमा कालोपत्र तथा अलाइनमेन्ट मिलाउने काम बाँकी रहे पनि अन्य खण्डमा सडक निर्माण पूरा भएको जनाइएको छ ।

उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले स्थानीय तह आएपछि भरतपुरमा उल्लेखनीय विकासकार्य भएको बताइन् । उनले भनिन्, “महानगरपालिकाको गौरवको प्राथमिकताप्राप्त योजनाका रूपमा हामीले यसलाई अघि बढाएका हौँ, देशकै सबैभन्दा लामो महानगरस्तरीय ‘रिङरोड’ अहिले राष्ट्रिय राजमार्ग ९एनएच०का रूपमा विकास भएको छ ।” केन्द्रीय सडकका रूपमा सूचीकृत भएसँगै अब यस सडकलाई केन्द्र सरकारले समेत प्राथमिकतामा राखेर हेर्ने उनले बताइन् ।

अरबौँ रुपैयाँको लगानीमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा यो सडक निर्माण गरिएको उनले जानकारी दिइन् । सडक पूर्ण रूपमा पक्की भइसकेको उल्लेख गर्दै उनले कतिपय स्थानमा व्यवस्थापनका काम बाँकी रहेको बताइन् । “जहाँ जसरी सम्भव हुन्छ, त्यसैअनुसार निर्माण गरिएको छ, जनतालाई मर्का पर्नेगरी बाटो विस्तार गरिएको छैन”, उनले स्पष्ट पारिन् ।

सडकको मापदण्ड ३० मिटर कायम गर्ने महानगरपालिकाको निर्णय रहेको र वडाबाट आएका सुझावका आधारमा छलफल गरी व्यावहारिक ढङ्गले काम अघि बढाइएको उनले बताइन् । आगामी दिनमा यस सडकलाई स्तरोन्नति गरी दुई लेनमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख दाहालले भरतपुरमा भौतिक विकासले फड्को मारेको उल्लेख गरिन् । उनले हजारौँ किलोमिटर सडक कालोपत्र भइसकेको जनाउँदै अब सामाजिक विकास र रोजगारी सिर्जनालाई महानगरले प्राथमिकतामा राख्ने बताइन् ।

कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको समग्र विकासमा चक्रपथले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भौतिक र सामाजिक विकासलाई सँगसँगै अघि बढाउन महानगरपालिका निरन्तर लागिपरेको जानकारी दिए ।

सङ्घीय, प्रदेश र स्थानीय तहको लगानीमा निर्माण भएको रिङरोडको शिलान्यास २०७५ असार २९ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणगढको पुलचोकमा गरेका थिए । महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार चक्रपथ सुरु भएको सात वर्षमा अधिकांश स्थानमा कालोपत्र सम्पन्न भएको छभने केही खण्डमा ‘अलाइनमेन्ट’ स्पष्ट नभएकाले काम बाँकी रहेको छ ।

चक्रपथका केही भाग राष्ट्रिय राजमार्गसँग समेत जोडिने उनले बताए । महानगरले तयार पारेको चक्रपथ नारायणगढको पुलचोकबाट नारायणी नदीतर्फ गोलाघाटसम्म पुग्छ भने आज उद्घाटन भएको गोन्द्राङबाट जङ्गलको किनारैकिनार पटिहानी–जगतपुर हुँदै पुनः गोलाघाटमै जोडिन्छ ।

यसैबीच, आजै भरतपुर महानगरको केन्द्र भाग हुँदै विभिन्न वडा भएर बग्ने ३० दशमलव दुई किलोमिटर लामो केरुङ्गा खोलाको सौन्दर्यीकरण कार्यअन्तर्गत भरतपुर–९ र १२ मा सम्पन्न भएका कामको पनि उद्घाटन गरिएको छ । महानगर प्रमुख दाहाल र उपप्रमुख अधिकारीले उक्त कार्यको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा प्रमुख दाहालले महानगर क्षेत्रभित्र बग्ने खोलालाई चरणबद्ध रूपमा सौन्दर्यीकरण गर्ने काम थालिएको बताइन् । उनले केरुङ्गा खोला महानगरको गौरवको आयोजनाका रूपमा अघि बढाइएको उल्लेख गर्दै भौतिक विकाससँगै सौन्दर्यीकरण र वातावरणीय सुधारका कामलाई पनि प्राथमिकता दिइएको बताइन् ।

पुङ्गी खोला र केरुङ्गा खोलालाई सौन्दर्यीकरण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने काम सुरु भइसकेको उनले जानकारी दिइन् । सुरु गरिएको काम सम्पन्न गर्ने जिम्मेवारी महानगरकै भएको भन्दै उनले सम्पूर्ण आयोजनालाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उपप्रमुख अधिकारीले महानगरको भित्री भागमा बग्ने खोलालाई व्यवस्थित गर्नु महानगरको दायित्व भएको बताइन् । खोलालाई व्यवस्थित गर्दै करिडोरका रूपमा विकास गर्दा वातावरणीय सन्तुलनमा समेत सकारात्मक प्रभाव पर्ने उनले उल्लेख गरिन् ।

सो अवसरमा भरतपुर–९ का वडाध्यक्ष यमलाल कँडेल, भरतपुर–१२ का वडाध्यक्ष लेखराज पन्त, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, उपसचिव शेषकान्त पौडेल, सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सन्तोष आचार्यलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : २३ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम