४ माघ २०८२, आइतबार | January 18, 2026

राष्ट्रियसभाको १९ औँ अधिवेशन आजदेखि सुरु हुँदै, बैठक सिंहदरबारमा बस्ने



काठमाडौं । राष्ट्रियसभाको १९ औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा ध्वस्त भएपछि यसपटक अधिवेशन सङ्घीय संसद् सचिवालय सिंहदरबार परिसरमा सञ्चालन गरिने तयारी गरिएको छ । राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।

अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए । सो बैठकमार्फत अधिवेशनको प्रारम्भिक कार्यसूची तय गरिएको हो ।

अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वान गरिएको पत्र वाचन गर्ने कार्यक्रम छ । साथै, हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरी मौनधारण गर्ने कार्यसूची पनि तय गरिएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ । बैठक कक्ष, सुरक्षा, प्राविधिक तथा प्रशासनिक व्यवस्थापनलाई अन्तिम रूप दिइसकिएको उनले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबार बिहान ११ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन् । यसअघि राष्ट्रिय सभाको १८ औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचनको तयारी गरिरहेको छ । आयोगका अनुसार एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत अघि बढिरहेको र राष्ट्रिय सभामा पनि नयाँ सदस्य निर्वाचित भएर आउने अवस्थामा यो अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ । आगामी दिनमा संसद्‌मा महत्त्वपूर्ण विधेयक, राजनीतिक घटनाक्रम र निर्वाचनसम्बन्धी विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ३५ बजे

पार्टी आधिकारिकताविरुद्ध देउवा समूह सर्वोच्च जाँदै, आयोगको निर्णय बदरको माग

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबी

रुपन्देही-३ बाट वासुदेव घिमिरेले पाए एमालेको टिकट

काठमाडौं । नेकपा एमालेले रुपन्देही क्षेत्र नं. ३ बाट निवर्तमान

निसीखोलामा पुतली नाचँको रौनक

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-६ भल्कोटमा पुतली नाचँ प्रदर्शन गरिएको

माधव सापकोटाले पाए सिन्धुपाल्चोक-१ बाट नेकपाको टिकट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता माधव सापकोटाले

महाधिवेशनमा ओलीविरुद्ध उभिएका नेताहरूको टिकट चैट

काठमाडौं । गत मंसिरमा सम्पन्न नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी