काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको जनाउँदै उनले समय र प्रक्रियागत सीमाबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्न पार्टीले भरपूर प्रयास गरिरहेको स्पष्ट पारेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देशमार्फत थापाले भने, “हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ । समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने प्रयास भइरहेको छ ।”
उनले उम्मेदवार छनोटलाई भन्दा पनि सहमतिको प्रक्रियालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै सबै पक्षलाई समेट्ने गरी निर्णय गर्ने प्रयास भइरहेको बताए । पार्टीभित्र देखिएका मतभेदलाई थाती राखेर आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर अघि बढ्न उनले आग्रह गरे ।
“भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत विषय होइन, पार्टीको साझा अभियान हो,” थापाले भने ।
समयको चाप र आन्तरिक सन्तुलन मिलाउनुपर्ने अवस्थाबीच कांग्रेस नेतृत्व उम्मेदवार टुंग्याउने प्रक्रियामा जुटिरहेको थापाको भनाइ छ । उनले आन्तरिक विवादलाई छाडेर एकताबद्ध रूपमा निर्वाचन अभियानमा होमिन सबै नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
कांग्रेसले समयमै उम्मेदवार टुंग्याएर आगामी प्रतिनिधिसभा निर्वाचनमा सशक्त रूपमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको बताइएको छ ।


















प्रतिक्रिया