काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दिइएको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रचलित कानुनअनुसार उनको उम्मेदवारी कायम रहन नसक्ने ठहर गर्दै खारेज गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयद्वारा जारी निर्णयमा भनिएको छ, “नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधिसभा सदस्य पदको लागि हुने निर्वाचनमा प्रस्तुत मनोनयनपत्र प्रचलित कानुनअनुसार कायम रहन सक्ने अवस्था नदेखिएकाले खारेज गरिएको छ ।”
चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । मनोनयन दर्तापछि उनको उम्मेदवारीमाथि कानुनी आधारमा जाँचबुझ गरिएको र त्यसैका आधारमा निर्णय लिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनको उम्मेदवारी खारेज भएसँगै कैलाली-१ को चुनावी समीकरणमा असर पर्ने अनुमान गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले अब यस विषयमा कानुनी वा राजनीतिक रूपमा कस्तो कदम चाल्ने भन्नेबारे आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी छ ।


















प्रतिक्रिया