१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित



मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित बनेको छ । भारी हिमपातका कारण बुधबारदेखि यस नाकाबाट हुने आयातनिर्यात पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

माथिल्लो मुस्ताङमा मङ्गलबार राति परेको हिमपात तेस्रोपटक हो । यसअघि यस वर्ष दुईपटक हिमपात भइसकेको छ । लोमान्थाङ-२ न्हेचुङछोसेरस्थित भन्सार कार्यालयमा कार्यरत नायबसुब्बा जीवन देवकोटाका अनुसार जोमसोम-कोरला सडकमा दुई फिट बढी बाक्लो हिउँ जमेकाले कोरलानाकाबाट हुने निकासी तथा पैठारी कारोबार ठप्प भएको छ । हिमपातका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा भन्सार कार्यालयको नियमित कामकाज पनि ठप्प भएको छ ।

चीनतर्फ मालवस्तु पैठारी गर्न गएका एक दर्जन कन्टेनर लोमान्थाङ-२ छोसेरस्थित मुस्ताङ भन्सार कार्यालयमा थन्किएका छन् । कतिपय कन्टेनरको भन्सार जाँचपास भएको र कतिपय कन्टेनरको भन्सार घोषणा हुने क्रममा रहेकाहरू कागबेनी-कोरला सडक पूर्ण रूपमा बन्द रहेकाले गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको नायबसुब्बा देवकोटाको भनाइ छ ।

हिमपातअघि कोरलानाकास्थित चिनियाँ भन्सारमा मालवस्तु पैठारी गर्न गएका केही कन्टेनर उतै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले भारी हिमपातका कारण कागबेनी-कोरला सडक पूर्ण रूपमा अवरुद्ध रहेको बताए । कोरला सडकको करिब ९० किलोमिटर दूरीमा दुई फिट हिउँ जमेर बसेकाले अवरुद्ध सडक सञ्चालन गराउन केही दिन लाग्ने उनको अनुमान छ ।

कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले हिमपातबाट अवरुद्ध सडकलाई जतिसक्दो छिटो सञ्चालन ल्याउन आयोजना प्रतिबद्ध रहेको र आजदेखि वारागुङ मुक्तिक्षेत्र-३ छुसाङबाट सडकको हिउँ पन्छाउन आवश्यक उपकरण परिचालित गरिने जानकारी दिए ।

छोसेर स्थित सशस्त्र प्रहरी बल नेपाल (बिओपी)का इन्चार्ज प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार भारी हिमपातका कारण कोरलानाकामा पाल टाँगेर बसेका स्थानीय व्यापारी पनि घर फर्किएको छन् । हिमपातपछि चिसो अत्यधिक बढेकाले यहाँको जनजीवन कष्टकर बनेको छ । माथिल्लो मुस्ताङमा माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ डिग्रीम्म तापक्रम छ । चिसो अत्यधिक बढेका कारण पशुचौपाया र पशु गोठालालाई पनि समस्या परेको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ७ : ५५ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा