बुटवल । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पाल्पाको जन्तीलुङ्ग होमस्टेमा अध्ययन तथा अवलोकन भ्रमण गरेका छन् ।
संघले पुस १५ देखि १७ गतेसम्म बुटवलमा सम्पन्न सडक खाना महोत्सव २०८२ को समीक्षा गर्दै आन्तरिक पर्यटनलाई थप प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरेको संयोजक तथा संघका प्रथम उपाध्यक्ष थम्मन भण्डारीले जानकारी दिए । उनले बुटवल नजिकै रहेका रमणीय तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न सके आन्तरिकसँगै बाह्य पर्यटकसमेत आकर्षित गर्न सकिने सम्भावना रहेको बताए ।
कार्यक्रममा संघका वरिष्ठ सल्लाहकार माधव नेपालले जन्तीलुङ्ग होमस्टे स्थानीयस्तरबाट पर्यटन विकासको उत्कृष्ट नमुना भएको उल्लेख गरे । उनले होमस्टे प्रवद्र्धनले युवा पलायन रोक्न सहयोग पुग्ने, स्थानीय स्तरमै रोजगारी सिर्जना हुने तथा सरकारले समेत यस क्षेत्रमा सकारात्मक साथ दिइरहेको बताए ।
संघका अध्यक्ष माधवकुमार खनालले सडक खाना महोत्सव २०८२ नयाँ र फरक परिवेशमा सफलतापूर्वक सम्पन्न भएको दाबी गरे । महोत्सवलाई ३५ वटा विभिन्न विभागमा कार्यसमिति सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गरी प्रभावकारी रूपमा सञ्चालन गरिएको कारण कार्यक्रम सफल भएको उनले बताए । केवल मनोरञ्जन र खानाका परिकारमा सीमित नरही सरसफाइ, रक्तदान तथा पर्यटन गोष्ठीजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत समेटिएको खनालको भनाइ छ ।
आगामी वर्षदेखि महोत्सव आयोजनाका लागि निश्चित स्थान र समय तोक्न आवश्यक रहेको उल्लेख गर्दै संघ त्यसतर्फ अग्रसर हुने अध्यक्ष खनालले बताए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, सल्लाहकारहरू समुन्द्र जिसी, हिराध्वज शाह, प्रेम पाण्डे र महेन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालनका क्रममा समस्या देखिनु स्वाभाविक भएको बताउँदै देखिएका कमीकमजोरी सुधार गर्दै आगामी वर्ष अझ फरक र प्रभावकारी ढंगले कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए ।
संघका कोषाध्यक्ष अर्जुन पोखरेलले सडक खाना महोत्सवको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे र महासचिव केशवराज कंडेलले संस्थाको वार्षिक योजना अनुसार रचनात्मक तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

















प्रतिक्रिया