२३ माघ २०८२, शुक्रबार | February 6, 2026

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी



सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको तथ्य फेला परेको छ । जिल्लाको भैरहवा तथा बुटवलका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको गुनासो आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । स्थानीय तहबाट स्वीकृत प्राप्त १० देखि १५ शय्यासम्मको अस्पतालले मापदण्ड विपरीत गर्ने गरेको पाइएको हो ।

मापदण्डअनुसार स्थानीय तहबाट स्वीकृत प्राप्त अस्पतालहरुले आधारभूत स्वास्थ्य सेवा, सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, सामान्य स्त्री तथा प्रसूति सेवा, सामान्य बालरोग सेवा र सामान्य दन्त सेवा मात्र सञ्चालन गर्न पाउँछन् । तर ती अस्पतालले मापदण्ड विपरीत सञ्चार माध्यममा विज्ञापन नै प्रकाशन प्रसारण गरेर जटिल प्रकारका हाडजोर्नी, मेरुदण्डको शल्यक्रियाबाट प्रसूति गराउने, पत्थरी, पित्तथैली, मिर्गौलाको पत्थरीको शल्यक्रिया, एपिण्डिसाइटिसको शल्यक्रिया, जटिल प्रकारका पेटको शल्यक्रिया गर्ने गरेका छन् ।

मापदण्ड विपरीत सञ्चालित यी अस्पतालका कारण धेरै बिरामीको स्वास्थ्य उच्च जोखिममा पर्ने गरेको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । यस्ता अस्पतालमा प्राय विशेषज्ञ चिकित्सक नहुने, दक्ष जनशक्ति नहुने, विशेषज्ञले पर्याप्त समय नदिने, आवश्यक औजार उपकरण नहुने र बिरामीको अवस्था गम्भीर हुन पुगे राख्ने आइसियु नहुने भएकाले बिरामीको अवस्था जोखिममा पर्ने गरेको हो ।

अस्पतालमा मापदण्डअनुसार हुनुपर्ने एम्बुलेन्स सेवा नहुने, अस्पतालमा विद्युतीय ब्याकअप स्ट्याबलाइजर, ट्रान्स्फर्मर नहुने गरेको अनुगमनमा पाइएको छ । सरकारले बनाएको मापदण्डअनुसार त्यस्ता अस्पतालमा विद्युत्को वैकल्पिक रुपमा दुई वटा जेनेरेटर हुनुपर्ने भए पनि यहाँका स्थानीय तहमा सञ्चालित धेरै अस्पतालमा जेनेरेटर नभएको गुनासो सुनिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

‘फाएरफाइटिङ सिस्टम’को व्यवस्था हुनुपर्ने भए पनि त्यो नभएको, अस्पतालबाट निस्कने स्वास्थ्यलाई हानी पु(याउने दूषित फोहर व्यवस्थापन नगरेको देखिएको छ । उपचारका नाममा आउने खेताला डाक्टरले बिरामीलाई राम्रो जाँच नगर्ने, हतारमा शल्यक्रिया गर्ने, सामान्य घर तथा जीर्ण पूर्वाधारमा अस्पताल सञ्चालन गर्ने गरेकाले दुर्घटना हुने गरेको समेत पाइएको छ ।

यस्ता अस्पतालले बिरामीसँग मनपरी रकम असुल गर्ने तर बिलविजक नदिने गरेको देखिन्छ । ओमसतियामा सञ्चालित म्याक्स अस्पताल, सिद्धानगरमा सञ्चालित भैरहवा मल्टिस्पेसिलिटी अस्पताल, तिलोत्तमामा सञ्चालित ओम अस्पताल, बुटवलमा सञ्चालित साझा अस्पताललगायतका अस्पताल रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले चार तहमा अस्पताल सञ्चालनका लागि वर्गीकरण गरेको छ । स्थानीय तहबाट स्वीकृत प्राप्त गरी सञ्चालन गर्ने पाइने ५ देखि १५ शय्या सम्मका प्राइमरी अस्पताल, प्रदेश सरकारले स्वीकृत दिने १५ देखि २५ शय्या सम्मको सेकेण्डरी (बेसिक) अस्पताल, २५ देखि ५० शय्या सम्मको सेकेण्डरी अस्पताल, १०० वा सोभन्दा माथिका टर्चरी केयर अस्पताल र सङ्घीय सरकारको स्वीकृतमा सञ्चालित सुपर स्पेसेलिटी अस्पताल रहेका छन् । यी अस्पतालमध्ये स्थानीय तहबाट स्वीकृत प्राप्त अस्पतालले सम्पूर्ण अस्पतालले गर्ने गरेको गुनासहरु प्रशस्त भेटिने गरेका छन् । युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल रानीगाउँ भैरहवाका प्रशासन संयोजक तेजकुमार केसीले विभिन्न जिल्लामा स्थानीय तहमा सामान्य स्वास्थ्य सेवा दिनका लागि दर्ता भएका १५ शय्यासम्मका अस्पतालले विना साधनस्रोत जटिल प्रकारका उपचार तथा शल्यक्रिया गरिरहेको बताए ।

सरकारको स्वास्थ्य कार्यविधि र नियमावली विपरीत गर्ने यस्ता स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । लुम्बिनी नर्सिङ होमका सञ्चालक भीम तुलाचनले मापदण्डविपरीतका स्वास्थ्य संस्थाका कारण रुपन्देहीमा विकृति बढ्दो रहेको बताए । उनले क्लिनिकदेखि सामान्य अस्पतालमा शल्यक्रियादेखि विभिन्न विशेषज्ञ सेवा छ भन्दै प्रचार गरी पैसा कमाउने होडबाजीमा लाग्दा स्वास्थ्य क्षेत्र बदनाम भएको जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिकामा दर्ता भएका अस्पताल र पोलि क्लिनिकहरुले ठूला अस्पतालले जस्तै शल्यक्रिया र अन्य सेवा सञ्चालन गरेको विषयमा नगरपालिकाको स्वास्थ्य शाखा बेखबरझैँ देखिएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयनाथ चौधरीले नगरपालिकाबाट स्वीकृत भएका १५ शय्यासम्ममा अस्पतालले जटिल शल्यक्रिया गर्नु गलत भएको बताउँदै यस्ताले अनुगमन तथा कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।

यस विषयमा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा थापाले जुन निकायले स्वास्थ्य संस्था सञ्चालनका लागि अनुमति दियो त्यही संस्थाले अनुगमन तथा निरीक्षण गर्नुपर्ने बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा जिल्ला जनस्वास्थ्य कार्यालयले विषेशज्ञ सेवा उपलबध गराउन सक्ने छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका बजार अनुगमन संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले जिल्लाभित्र त्यस्ता स्वास्थ्य संस्थाले मापदण्ड विपरित गरेको पाइएमा कारबाही गरिने बताए ।

पोलिक्लिनिक

रुपन्देहीमा सञ्चालित अधिकांश पोलिक्लिनिकहरु मापदण्डविपरीत सञ्चालनमा छन् । प्रदेश सरकारबाट स्वीकृत प्राप्त यस्ता पोलिक्लिनिकहरुले नियमविपरीत अप्रेसन थिएटर राखी पिसाबसम्बन्धी शल्यक्रिया गर्ने गरेको, ‘लेजर स्टोन सर्जरी’ सेवा सञ्चालन गर्ने गरेको, प्रोटेस्टसम्बन्धी शल्यक्रिया गर्ने गरेको, हाडजोर्नीको शल्यक्रिया गर्ने गरेको, बिरामी भर्ना गरी राख्ने गरेको, रेडियोलोजिस्ट विना भिडियो एक्सरे गर्ने गरेको, मापदण्ड विपरीत एक्सरे सञ्चालन गर्ने गरेको देखिन्छ । यस्ता पोलिक्निकले बिरामीसँग बिलविजक चर्को शुल्क असुल गर्ने गरेको पाइन्छ ।

त्यस्ता अस्पतालमा रुपन्देहीमा सिद्धि विनायक पोलिक्लिनिक, चिरायू हेल्थहोम, प्रकृति हेल्थकेयर सेन्टर, कोहीनुर पोलिक्लिनिकलगायत एक दर्जन बढी छन् ।

नक्कली भिडियो एक्सरे

त्यसैगरी केही अस्पतालले स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिई बिकिरणयुक्त भिडियो एक्सरे मेसिनहरु स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिई खरिद तथा सञ्चालन गर्नुपर्ने भए पनि त्यो विपरीत सञ्चालन गरेको पाइएको छ । यी अस्पतालमा बिरामीको स्वास्थ्यप्रति गम्भीर लापरबाही गर्ने गरेको देखिन्छ । नियमन तथा कारबाही सरकारी निकाय भने मौन छ ।

रुपन्देहीको मायादेवी गाउँपालिकामा सञ्चालित सिद्धि विनायक पोलिक्लिनिकलगायत ग्रामीण क्षेत्रमा धेरै स्वास्थ्य संस्थामा यस्तो पाइएको बताइएको छ । यी संस्थामा रेडियोलोजिस्टले गर्नुपर्ने भिडियो एक्सरे सामान्य स्वास्थ्यकर्मी तथा मेडिकल अफिसरबाट गर्ने गरिन्छ ।

जिल्लामा विभिन्न स्थानीय तहमा सञ्चालित यस्ता स्वास्थ्य संस्थाको अनुगमन, नियमन तथा कारबाही गर्ने अधिकार स्वीकृत दिने स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतले गर्नुपर्ने भए पनि त्यो हुन सकेको छैन । कमल रायमाझी/रासस

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ७ : ३६ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस