२६ माघ २०८२, सोमबार | February 9, 2026

सोसल मिडियाको स्टन्टले देश बन्दैन : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि कुनै ठोस योगदान नगरेकाहरू सामाजिक सञ्जालको स्टन्टमार्फत राजनीति जित्ने भ्रममा रहेको टिप्पणी गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै उनले विश्व साम्राज्यवादले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गर्न पपुलिस्ट प्रवृत्तिमा लगानी गर्ने गरेको दाबी गरे। नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना दोहोर्याउने भूराजनीतिक चलखेल भइरहेको उनको भनाइ थियो।

“अहिले नेपालमा लोकप्रियतावाद हाबी गराउने प्रयास भइरहेको छ। सोसल मिडियामा फन्डा गरेर राजनीतिमा स्थापित हुने सपना देखिँदैछ,” प्रचण्डले भने, “तर उनीहरूसँग न त स्पष्ट योजना छ, न त जनताका पक्षमा ठोस एजेन्डा। विश्व साम्राज्यवादले पपुलिज्मलाई प्रयोग गरेर लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको छ, नेपालमा पनि त्यही प्रयास भइरहेको छ।”

उनले यस्तो प्रवृत्तिको प्रतिवाद गर्न नयाँ संकल्प, गम्भीर समीक्षा र राष्ट्र–जनताप्रतिको प्रतिबद्ध तागत आवश्यक रहेको उल्लेख गर्दै त्यही उद्देश्यका लागि नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताए। नयाँको नाममा सामाजिक सञ्जालमा स्टन्ट गरेर मात्र परिवर्तन सम्भव नहुने उनको स्पष्ट धारणा थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति संकेत गर्दै प्रचण्डले पपुलिस्टहरू विदेशी शक्तिले लोकतन्त्रविरुद्ध प्रयोग गर्ने पात्रजस्तै भएको टिप्पणी गरे। प्रचण्डले आफ्नो पार्टीले राखेको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको बताए । उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेपाली कम्युनिष्ट पार्टीको निर्माण भएको जिकिर गरे ।  २६ वटा घटक मिलेर बनेको नेकपा निकट भविष्यमा देशकै ठूलो पार्टी बन्ने दाबी पनि गरे।

कार्यक्रममा प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ५ की उम्मेदवार युवा तथा जुझारु महिला कल्पना शर्मालाई विजयी बनाउन मतदातासँग अपील गरे। उनले शर्मा जनताको पीर–मर्का बुझ्ने, पार्टी र क्रान्तिप्रति सधैं इमान्दार नेतृ भएको उल्लेख गर्दै उनको विजयले क्षेत्रको विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।

नेकपा काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कल्पना शर्माले जेनजी आन्दोलनपछि देश फरक दिशामा अगाडि बढेको बताइन। उनले जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउन नेकपाको जीत आवश्यक रहेको जिकिर गरिन। शर्माले आफ्नो जीवन जनताको सेवामा समर्पित रहेको बताउँदै सधैं जनताको सुख-दुःखको पक्षमा आवाज उठाउँदै आएको र आगामी दिनमा पनि निरन्तर सेवामा लागिरहने प्रतिबद्धता जनाइन्। काठमाडौं क्षेत्र नम्बर ५ मा ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचानको संरक्षण, बाटोघाटोको समस्या र सुकुम्बासी समस्या गम्भीर रहेको उल्लेख गर्दै आफू विजयी भए ती विषय संसदमा गम्भीरतापूर्वक उठाउने बताइन्।

काठमाडौं क्षेत्र नं. ६ का उम्मेदवार हिमाल शर्माले काठमाडौं उपत्यकामा यसपटक नेकपाले झण्डा गाड्ने दाबी गरे । शर्माले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेकपाको तारा चिन्हमा उठेका उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुसँग अपील गरे ।

कार्यक्रममा नेकपाका एमाले खेलकुद विभाग सदस्य रेनुका श्रेष्ठ, बैंकर विमला ज्ञवाली, वकिल सबिना वाग्ले नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय संयोजक जीवन हमाललगायत ७५ जना विभिन्न व्यक्तित्वलाई पार्टीमा स्वागत गरिएको थियो।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ११ : ४० बजे

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर

पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको

रूपन्देही–३ मा ३६ उम्मेदवारबीच प्रतिष्पर्धा हुँदै

रूपन्देही । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

काठमाडौं-५ बाट ७० भन्दा बढी व्यक्ति नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आज विभिन्न पेशा व्यवसायका