२९ माघ २०८२, बिहिबार | February 12, 2026

जनविद्रोहको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन

कडा सुरक्षाबीच नयाँ राजनीतिक दिशाको खोजी



ढाका । बंगलादेशमा बिहीबार बिहानदेखि देशभरि प्रतिनिधि सभा निर्वाचन र ‘जुलाई नेशनल चार्टर’ सम्बन्धी जनमतसंग्रहका लागि मतदान सुरु भएको छ। विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको १८ महिनापछि हुन लागेको यो निर्वाचनलाई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

देशभरिका ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजेदेखि मतदान सुरु भएको अनलाइन डेली स्टारले जनाएको छ। निर्वाचन आयोगका अनुसार मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहनेछ। यसपटक १२ करोड ७७ लाख मतदाता मतदानका लागि योग्य छन्, जसमध्ये ६ करोड ४८ लाख पुरुष र ६ करोड २८ लाख महिला रहेका छन्।

संसदका प्रतिनिधि छनोटसँगै ‘जुलाई नेशनल चार्टर’ सम्बन्धी जनमतसंग्रह पनि भइरहेको छ। उक्त चार्टरमा संविधान संशोधन, कार्यपालिका–व्यवस्थापिका–न्यायपालिकाबीच शक्ति सन्तुलन सुदृढीकरण, निर्वाचन प्रणाली सुधार, मानवअधिकार र जवाफदेहिता सुनिश्चित गर्ने प्रावधान तथा भ्रष्टाचार नियन्त्रण र संस्थागत पारदर्शिता अभिवृद्धिका विषय समेटिएका छन्। यसको परिणामले आगामी वर्षहरूमा देशको शासन प्रणालीको स्वरूप तय गर्ने अपेक्षा गरिएको छ।

निर्वाचनमा ५० राजनीतिक दलका १ हजार ७५५ उम्मेदवार र २७३ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रतिनिधि सभाका ३०० सिटमध्ये २९९ सिटमा मतदान भइरहेको छ। एक उम्मेदवारको निधन भएपछि शेर्पुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित गरिएको छ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन देशभर करिब १० लाख सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीमध्ये सेना, नौसेना, वायुसेना, बोर्डर गार्ड, कोस्ट गार्ड, प्रहरी, र्‍यापिड एक्शन बटालियन, अन्सार तथा भीडीपी, बीएनसीसी क्याडेट र स्थानीय सुरक्षाकर्मी समावेश छन्। साथै १ हजार ५१ कार्यकारी मजिस्ट्रेटलाई फेब्रुअरी १४ सम्मका लागि खटाइएको छ। सशस्त्र बल ‘इन एड टु सिभिल पावर’ प्रावधानअन्तर्गत नागरिक प्रशासनलाई सहयोग गर्न परिचालित गरिएको जनाइएको छ।

प्रहरी महानिरीक्षक बहारुल आलमका अनुसार प्रत्येक मतदान केन्द्रमा स्थायी सुरक्षा व्यवस्था मिलाइएको छ भने बाहिरी क्षेत्रमा मोबाइल गस्ती टोली र आवश्यक परे हस्तक्षेप गर्न स्ट्राइकिङ युनिट तयारी अवस्थामा राखिएको छ। मतपत्र तथा निर्वाचन सामग्री कडा सुरक्षाबीच मतदान केन्द्रहरूमा पुर्‍याइएको छ र मतदान तथा मतगणनाको निगरानीका लागि हजारौं कर्मचारी खटिएका छन्।

यसपटकको निर्वाचनमा मुख्यतः तारिक रहमान नेतृत्वको बिएनपी र जमात–ए–इस्लामी नेतृत्वका दुई प्रमुख गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ। कम्तीमा १ हजार ४०० जनाको ज्यान जाने गरी भएको दमनकारी कारबाहीमा संलग्न रहेको आरोपमा अवामी लिगलाई यस निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ।

सन् २०२४ को जुलाईमा सुरु भएको विद्यार्थी आन्दोलन हिंसात्मक बन्दा तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत पुगेकी थिइन्। हाल उनी भारतमै रहेकी छन्।

मुख्य सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै मतदान दिवसलाई “नयाँ बंगलादेशको जन्मदिन” बनाउन आह्वान गरेका थिए। उनले मतदाताले नै देशको भावी इतिहास लेख्ने भएकाले जिम्मेवार सहभागिताका लागि आग्रह गरेका छन्।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ९ : ५७ बजे

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र एक महिनासम्म लागू हुने

जनविद्रोहको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन

ढाका । बंगलादेशमा बिहीबार बिहानदेखि देशभरि प्रतिनिधि सभा निर्वाचन र