२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?



काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ वर्षपछि चुनाव भयो । यो चुनावमा शेख हसिनाले प्रतिबन्ध लगाएको पूर्वप्रधानमन्त्री वेगम खालिदा जियाको पार्टी बंगलादेश नेसनल पार्टीले ३०० मध्ये २१२ सिट जितेको छ । यस्तै इस्लामिक कट्टरपन्थी भनिएको जमात-ए-इस्लामीले ६८ र विद्रोही युवाहरूको पार्टी नेसनल सिटिजन्स पार्टीले ६ सिट जितेको छ ।

यो निर्वाचन परिणामलाई लिएर नेपालमा न्यारेटिभ वार चलिरहेको छ ।

१, बंगलादेशमा आन्दोलनकारीको पार्टी एनसिपीले ६ सिट मात्रै ल्यायो । त्यसैगरी नेपालमा पनि आन्दोलनकारीको पार्टी बढारिन्छ । यो तर्कमा आन्दोलनकारीको पार्टी भनेर रास्वपालाई लक्षित गरिएको छ ।

२, बंगलादेशको चुनावबाट निर्वाचित बिएनपी आन्दोलनको समर्थक पार्टी हो, उसले दुई तिहाई बहुमत ल्याएको छ । नेपालले पनि आन्दोलनको पक्षधर शक्तिले अप्रत्यासित जित हात पार्छ । यो तर्क रास्वपाले बहुमत ल्याउने दाबी छ ।

तर, के नेपाल र बंगलादेशको सम्पूर्ण परिस्थिति एउटै हो ?

हामीले बंगलादेशको परिस्थिति राम्रोसँग बुझ्यौं भने बंगलादेशको चुनावी परिणामलाई नेपालमा कसरी बुझ्ने भन्ने थाहा पाइहाल्छौं ।

बंगलादेशमा पनि नेपालमा जस्तै युवा र विद्यार्थीहरूले विद्रोह गरेका हुन् र उनीहरूकै मागअनुसार मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम चुनावी सरकार बनाइएको थियो । तर, त्यहाँ नेपालमा जस्तो दुई दिनमा नै सत्ता पलट भएको होइन । महिनौंसम्म आन्दोलन चलेको थियो र शेख हसिना सरकारले आन्दोलनमाथि चरम दमन गरेको थियो ।

आन्दोलन लामो समय चल्दा आन्दोलनकारीहरूले एक-अर्कासँग राम्रोसँग संवाद गर्ने, राजनीतिक विषयमा छलफल गर्ने र विचार मिल्नेहरू एक ठाउँमा आउने समय पाए ।

त्यसैले, उनीहरूले नेसनल सिटिजन्स पार्टी नामको पार्टी बनाए । विद्रोह सकिएको लामो समयपछि चुनाव भएकाले उनीहरूले पार्टी निर्माणका लागि समय पनि पाए ।

यति हुँदा पनि उनीहरूले देशै भरी उम्मेदवारी दिएका थिएनन् । उनीहरूले ३०० मध्ये २७ वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार उठाएका थिए । यसमध्ये ६ सिटमा यो पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जुन, उम्मेदवार उठाएको मध्ये २२ प्रतिशत हो ।

तर, एनसिपी एक्लैले यी सिट जितेको होइन । उसले जमात-ए-इस्लामीसँग तालमेल गरेको थियो ।

यो पार्टीको सम्बन्ध पाकिस्तानको यही नामको पार्टीसँग देखिन्छ । कम्तीमा यी दुवै संगठनको उद्गमको इतिहास एउटै हो । जमात-ए-इस्लामी धार्मिक कट्टरपन्थी पार्टी हो ।

एनसिपीले यही संगठनलाई सहयोग गरेको थियो । जसले बंगलादेशमा ६८ सिट जितेको छ । शेख हसिनाको शासनकालमा यो संगठन प्रतिबन्धित अवस्थामा थियो । तर, विद्रोहपछि युनुस सरकारले प्रतिबन्ध खुला गरेको थियो ।

नेपालमा एनसिपीजस्तो आन्दोलनकारीको आफ्नै पार्टी छैन । त्यसैले, हामीले एनसिपीको हार र जितलाई तुलना गर्न मिल्ने शक्ति नेपालमा छैन ।

अर्को कुरा, त्यहाँको जमात(ए(इस्लामी जस्तै धार्मिक मुद्धा उठाउने पार्टी नेपालमा राप्रपा हो, जसले हिन्दु राष्ट्र हुनुपर्ने माग राख्छ ।

यहाँ महत्वपूर्ण भिन्नता के हो भने जमात बंगलादेशमा लामो समय प्रतिबन्धित थियो र विद्रोहपछि खुला राजनीतिमा आएको थियो । तर, राप्रपा नेपालमा कहिल्यै प्रतिबन्धित थिएन र छैन। जेनजी आन्दोलनकारीहरूले राप्रपाले उठाउने हिन्दु राष्ट्र र राजतन्त्रको मुद्धालाई समर्थन गरेका छैनन्, न यी दुई पार्टी बीच तालमेल नै छ । २०७९को निर्वाचनअघि राप्रपाको पक्षमा निकै नै राम्रो माहोल थियो । राजधानी काठमाडौंमात्रै नभएर गाउँगाउँमा राप्रपाको महौल थियो । यसले समानुपातिकमा राप्रपालाई राम्रो फाइदा भएको थियो। एमालेसँग साँठगाँठ गरेर प्रत्यक्षमा केहि सिट जितेको थियो । अहिले राप्रपाको माहोल पहिलेजस्तो छैन । एक्लै लड्दा राप्रपाले अपवाद बाहेक प्रत्यक्षमा पनि जित्ने देखिँदैन ।

अर्कातिर, बंगलादेशमा विद्रोह हुँदा शेख हसिनाको एकलौटी सरकार थियो । आन्दोलन पछि शेख हसिना देश छोडेर भागिन् । उनको दल अवामी लिगलाई यो चुनावमा भाग लिन दिइएन र निषेध गरियो ।

अहिले २१२ सिट जितेको बिएनपीले आन्दोलनलाई खुला समर्थन मात्रै गरेको थिएन्, आन्दोलन चर्काउन आफ्नो संगठन पनि परिचालन गरेको थियो ।

नेपालमा विद्रोहको समयमा कांग्रेस र एमालेको मिलिजुली सरकार थियो । सत्ताबाट अपदस्त भए पनि केपी ओली र एमाले चुनावी मैदानमा नै छन् । उनीहरू स्पष्ट रूपमा आन्दोलनको विपक्षमा छन् ।

अर्कातिर, ओलीसँगको सत्ता साझेदार नेपाली कांग्रेसको आन्दोलनमा कुनै सहभागीता थिएन, जसरी बिएनपीको थियो । तर, आन्दोलनकै बलमा कांग्रेस भित्र पनि विद्रोह भयो र यसले आन्दोलनको उपलब्धि र आकांक्षालाई समर्थन दियो ।

बंगलादेशमा कांग्रेसजस्तो कुनै पार्टी चुनावी मैदानमा थिएन । जसले आन्दोलनको विरोध खेपेपनि आन्दोलन सकिएपछि त्यसलाई मान्छु भन्दै चुनावमा गयो ।

बिएनपी जस्तै आन्दोलनमै सहभागी भएको पार्टी रास्वपा हो । तर, बिएनपी र रास्वपाबीच धेरै भिन्नता छ । बिएनपी बंगलादेशको पुरानो पार्टी हो भने रास्वपा २०७९को निर्वाचनअघि गठन भएको नयाँ पार्टी ।

बिएनपीलाई शेख हसिना सरकारले अघिल्लो चुनावमा प्रतिबन्ध लगाएको थियो । रास्वपा चुनावमा २२ सिट जितेर पटक-पटक सत्तामै गएको थियो ।

त्यसैले, बंगलादेशको चुनावी परिणामलाई नेपालसँग तुलना गर्ने ठाउँ छैन । समानता भन्दा भिन्नता धेरै छन् ।

कुरा रह्यो फेसबुकमा ७५ लाख फलोअर्स भएकी युवा नेतृ तस्निम जाराको । आन्दोलनबाट नेताका रुपमा उदाए पनि उनी चुनावमा पराजित भइन् । उनको निर्वाचन क्षेत्रमा बिएनपीकै उम्मेदवार विजयी भए भने जमात(ए(इस्लामका उम्मेदवार दोस्रो भए । उनी तेस्रो भइन् ।

उनी आन्दोलनकारीको पार्टी एनसिपीको उम्मेदवार थिइनन् । एनसिपीले धार्मिक कट्टरपन्थी जमात-ए-इस्लामीसँग तालमेल गर्ने सहमति गरेपछि उनले पार्टी छोडेकी थिइन् र स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । जति मत आयो, उनको व्यक्तिगत लोकप्रीयताको मत हो ।

बरू, बंगलादेशमा जेनजी विद्रोही र सरकारबीच भएको सम्झौतालाई मान्यता दिने कि नदिने भन्ने विषयमा जनमत संग्रह पनि भएको थियो, जसलाई बंगलादेशी जनताले अनुमोदन गरेका छन् । यसले जनताले विद्रोहलाई मान्यता दिएको बुझ्नु पर्ने हुन्छ ।

बंगलादेश र नेपालमा विद्रोहपछि बनेको अन्तरिम सरकारले चुनाव गराएका हुन् । तर, परिस्थिति, पार्टी, अवस्था, माग सबै फरक छन् । त्यसैले, तुलना गर्न सकिँदैन ।

बंगलादेशले राम्रो आर्थिक प्रगति गरिरहेको थियो । भारत र चीनबीच सन्तुलनको विदेश नीति अपनाएको थियो । तर, अमेरिकाको स्पेश भने खुम्चिँदै गएको थियो ।

अर्का तिर, यो सिंगो उत्तर(पूर्वी भारत, म्यानमार, थाइल्याण्ड सबैतिर उथलपुथल भइरहेको थियो । यसबीचमा बंगलादेशमा लोकतन्त्र र नागरिक अधिकार खुम्चिँदै गइरहेको थियो भने भ्रष्टाचार बढिरहेको थियो । इस्लामिक कट्टरपन्थ पनि बढिरहेको छ ।

यो सबै चक्रव्युहबाट बाहिर निस्किएर बंगलादेश शान्ति र समृद्धिको बाटोमा हिडोस्, नेपाल, श्रीलंका, पाकिस्तान जस्ता मुलुकका लागि प्रेरणा बनोस् । शुभकामना !!

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १० : १८ बजे

रहेनन् राजनीतिज्ञ विश्वबन्धु थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ

निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार

महाशिवरात्रीमा होटल पौवाका सबै शाखाहरुमा धुनी जगाउँदै भजनकिर्तन गरिने

नेपालगन्ज । होटल पौवाले यसवर्ष पनि महाशिवरात्रि पर्वलाई देशभरका शाखाहरुमा

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ