१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन



म्याग्दी । शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ । गाउँको पुछारमा उजाड लाग्दो पाखो छ । पाखोको छेउमै छ पहेँलो रङको पक्की भवन । अनकन्टारजस्तो ठाउँमा आकर्षक देखिने त्यो भवन दोवाको पालिकास्तरीय अस्पताल भवन हो ।

२०७८ सालमा निर्माण सम्पन्न भएको त्यो भवन बाहिर हेर्दा चिटिक्कको देखिए पनि भित्र खण्डहरजस्तै बनेको छ । कारण हो-अस्पताल सञ्चालनमा आउन नसक्नु । निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि पाँच शय्या क्षमताको सो अस्पतालमा न उपकरण आए, न त चिकित्सक नै । अहिले करोडौँ रुपैयाँ खर्च गरेर बनाएको सो भवन अलपत्र अवस्थामा छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा पर्छ दोवागाउँ । अस्पताल भवनबाट गाउँमा पुग्न गाडीमा १५-२० मिनेट लाग्छ । गाउँदेखि टाढा अपायक ठाउँ । न राम्रो सडक न व्यवस्थित बस्ती । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुरुप स्थानीयवासीले जग्गादान दिएर निर्माण गरिएको सो अस्पताल दोवावासीका लागि कुनै काममा आएन ।

बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा अस्पताल भवन प्रयोगमा आउन नसकेको अन्नपूर्ण गाउँपालिका-१ दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाले बताए । वडाध्यक्ष गर्बुजाका अनुसार चार वर्ष अगाडि निर्माण सम्पन्न भएको पाँच शय्याको पालिकास्तरीय अस्पतालको भवन उपकरण, चिकित्सकसहितको जनशक्ति व्यवस्थापनमा तीनै तहको सरकारको ध्यान नपुग्दा अलपत्र अवस्थामा पुगेको हो ।

बाह्र रोपनी सात आना दुई दाम क्षेत्रफल रहेको अस्पताल रविना-अमित जेभीले पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का लिई निर्माण गरेको अध्यक्ष गर्बुजाले बताए । अस्पताल निर्माण गर्न स्थानीय सात व्यक्तिले १२ रोपनी सात आनाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको गर्बुजाले बताए ।

अस्पतालमा अपाङ्गमैत्री भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ कोठा छन् ।

अस्पताल भवन बनेर पनि सञ्चालनमा आउन नसकेपछि सामान्य बिरामी पर्दा पनि उपचारका लागि बेनी धाउनुपरेको अन्नपूर्ण गाउँपालिका-१ दोवाकी मनसरा गर्बुजाले गुनासो गरिन् । पाँच शय्या क्षमताको भूकम्पप्रतिरोधी भवन निर्माण भए पनि प्रदेश र सङ्घीय सरकारले आवश्यक स्रोतसहितको जनशक्ति व्यवस्थापन गर्न नसकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ८ : ११ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ