काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि पुनः कर्फ्यु कडाइका साथ लागू गरिएको जनाएको छ । प्रशासनले सूचना जारी गर्दै अर्को आदेश नभएसम्म कर्फ्यु यथावत रहने स्पष्ट पार्दै सबै नागरिकलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार फागुन ७ गते राति करिब ९:५० बजे बौधिमाई नगरपालिका-९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरतर्फ जाँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो । विवाद चर्किँदै जाँदा ढुंगामुढा भएको र उक्त घटनामा कम्तीमा ६ जना घाइते भएका थिए ।
सोही विषयलाई लिएर शनिबार बिहान करिब ९:१५ बजे पुनः दुवै पक्षका करिब ५०० जना भेला भई दोहोरो झडपमा उत्रिएका थिए । झडपपछि जिल्लाको शान्ति सुरक्षा अवस्था संवेदनशील बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनाअनुसार आइतबार बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म दुई घण्टाका लागि कर्फ्यु खुकुलो पारिएको थियो, जसका क्रममा सर्वसाधारण अत्यावश्यक दैनिक उपभोग्य वस्तु किनमेलका लागि घरबाट बाहिर निस्किएका थिए । तर अवस्था पूर्ण रूपमा सामान्य नभएकाले बिहान ८:३० बजेदेखि पुनः कर्फ्यु कडाइका साथ लागू गरिएको प्रशासनले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म २० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरूमा जनमत पार्टीका नेता शेख जमशेदसमेत रहेका छन् । प्रहरी प्रशासनले झडप र हिंसात्मक गतिविधि बढाउन भूमिका खेलेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न सबै नागरिकलाई संयमित रहन, अफवाहमा नलाग्न तथा सरकारी निर्देशनको पूर्ण पालना गर्न अपिल गरेको छ । साथै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको र अवस्था नियन्त्रणमा लिन आवश्यक सबै कदम चालिएको प्रशासनले जनाएको छ ।


















प्रतिक्रिया