२८ असार २०८३, आइतबार | July 12, 2026

भदौ २३-२४ को जस्तो आन्दोलन र विध्वंस दोहोरिन नदिन कांग्रेस प्रतिवद्ध छ : गगन थापा



सुर्खेत। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान निर्वाचन कुनै दलको योजनाअनुसार नभई परिस्थितिको बाध्यताबाट आएको बताएका छन् ।

बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधानलाई सही मार्गमा राख्न यो निर्वाचन अनिवार्य सर्त भएको बताए । उनले फागुन २१ को निर्वाचनलाई सफल बनाउन कांग्रेस पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरे।

थापाले भने, “यो चुनाव कसैले योजना गरेर ल्याएको होइन, यो बाध्यता हो। तर अहिले हाम्रो संविधानलाई ट्र्याकमा राख्नका लागि अनिवार्य सर्त पनि यही हो। अर्को विकल्प थिएन र छैन।”

परिणामको चिन्ता नगरी चुनाव सफल बनाउन कांग्रेस सुरुदेखि नै सक्रिय रहेको उनको दाबी थियो। निर्वाचनका विषयमा विभिन्न संशय र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले ती सबै भ्रम चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरे।

सभापति थापाले कर्णालीवासीसँग आगामी पाँच वर्ष ‘अर्को प्रयोग’ नगर्न आग्रह गरे। “पाँच वर्ष अर्को प्रयोग नगरौँ, पाँच वर्ष परिवर्तनको वर्ष बनाऔँ,” उनले भने। कर्णालीको विकासका लागि स्पष्ट सोच र दीर्घकालीन दृष्टि आवश्यक रहेको उनको भनाइ थियो।

कर्णालीका सुन्दरता, सम्भावना र प्राकृतिक सम्पदाबारे धेरै कुरा गर्न सकिने उल्लेख गर्दै उनले भने, “कर्णाली स्वर्ग हो भन्न सकिन्छ, अन्नको भण्डार हो भन्न सकिन्छ, राराका कविता भन्न सकिन्छ, यहाँको स्याउ र यार्सागुम्बाको कथा भन्न सकिन्छ।” तर ती सबै सम्भावनासँगै जोडिएको कठोर यथार्थ गरिबी र बेरोजगारी भएको उनले औँल्याए।

देशभर करिब १७-१८ प्रतिशत गरिबी रहँदा कर्णालीमा झन्डै ४० प्रतिशत गरिबी किन कायम छ ? देशभर मातृमृत्यु दर घटिरहँदा कर्णालीका आमाहरू किन सुरक्षित हुन सकेका छैनन् ?—यी प्रश्नहरूको सतही उत्तरले समाधान नआउने भन्दै उनले समस्याको जरा पहिचान गर्नुपर्ने बताए।

थापाले कर्णाली र काठमाडौंको विकास एउटै ढाँचामा मापन गर्न नसकिने तर्क गरे। कर्णाली प्रदेशको वार्षिक आम्दानी करिब ५२ करोड रुपैयाँ मात्र रहेको उल्लेख गर्दै उनले स्रोत–साधनको असमानताले विकासमा ठूलो अन्तर पारेको बताए।

उनले कटाक्ष गर्दै भने, “काठमाडौं महानगरको मेयरलाई त सुतिसुति विकास गर्न पनि खुत्रुकेमा १० अर्ब रुपैयाँ जम्मा हुन्छ।” स्थानीय तहको सबैभन्दा ठूलो आम्दानी घरबहाल करबाट आउने उल्लेख गर्दै उनले सुर्खेत र कालिकोटका नागरिकले समेत काठमाडौंमा तिरेको घरभाडा कर त्यहीँको विकासमा प्रयोग हुने अवस्था रहेको बताए।

थापाले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घटनालाई वर्तमान राजनीतिक अवस्थासँग जोड्दै ती घटनाकै परिणामस्वरूप अहिलेको परिस्थिति सिर्जना भएको बताए। आगामी वर्षहरूमा त्यस्तो आन्दोलन र विध्वंस दोहोरिन नदिन कांग्रेस स्पष्ट योजनासहित जनतासामु गएको उनले बताए।

नेकपा एमालेले ती घटनालाई हेर्ने दृष्टिकोणप्रति आपत्ति जनाउँदै उनले दुई प्रकारका प्रवृत्तिको आलोचना गरे—एक, जसले सबै कुरा इन्कार गर्दै देशमा कुनै समस्या नै नभएको दाबी गर्छस र अर्को, जसले घटनाबारे मौन रहँदै राजनीतिक लाभ उठाउन खोज्छ। “यी दुवै सोचले २३ र २४ को अवस्था ल्यायो,” उनले भने, “नेपाली कांग्रेस यी दुवैभन्दा भिन्न छ।”

सभापति थापाले फागुन २१ को निर्वाचनलाई लोकतान्त्रिक स्थिरता र संवैधानिक मार्ग पुनर्स्थापनाको अवसरका रूपमा लिनुपर्ने बताए। “अब कुनै पनि प्रकारको आन्दोलन र विध्वंस हुन दिँदैनौँ,” उनले दृढतापूर्वक भने।

कर्णालीको विकास, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र संविधानको संरक्षणलाई केन्द्रमा राख्दै कांग्रेस निर्वाचनमा गएको उल्लेख गर्दै उनले जनतालाई स्थिरता, विकास र स्पष्ट दिशाका लागि साथ दिन आह्वान गरे।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ४ : ०३ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका