बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता तथा युवाहरूको ठूलो संख्या सामूहिक रूपमा समाहित भएका छन् ।
नवप्रवेशीहरुहरुलाई पार्टीका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्ण प्रसाद पौडेलले नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टी सदस्यता प्रदान गरेका छन् ।
त्यसक्रममा उपाध्यक्ष पौडेलले देशविरोधी र अस्थिरता फैलाउने शक्तिहरू सक्रिय भइरहेको सन्दर्भमा वामपन्थी मूलधारलाई अझ सशक्त बनाउनु आवश्यक रहेको बताए । उनले राष्ट्रको स्वाधीनता, स्थिरता र विकासका लागि एमाले नै विश्वासिलो शक्ति भएको दाबी गरे । उनले पार्टीमा समाहित हुनेलाई उचित जिम्मेवारी दिने जनाए ।
एमालेमा समाहित हुनेहरूले विगतका राजनीतिक विद्रोह र विभाजनले अपेक्षित परिणाम नदिएको स्वीकार गर्दै अब संगठित वामपन्थी शक्तिको निर्माणमार्फत मुलुकको रक्षा र विकासमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले हिजोका असन्तुष्टि र आन्दोलनले दीर्घकालीन उपलब्धि दिन नसकेको निष्कर्षसहित एमालेको मूलधारमा फर्किएको बताएका छन् ।
पार्टी प्रवेश गर्नेहरूमा चिनबहादुर गुरूङ (पूर्व नेकपा प्रदेश सदस्य), बुटवलका सचिव लोकराज शर्मा, चिरन्जीवि अधिकारी, इन्द्र राई, इश्वर गुरूङ, बुटवल १ का अध्यक्ष नरेन्द्र बस्नुतका छोरा सजित बस्नेतलगायत ६५० जना रहेको एमालेले दाबी गरेको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरूले राष्ट्रियता, सुशासन र समृद्धिको एजेण्डालाई केन्द्रमा राखेर संगठन विस्तार अभियानलाई तीव्रता दिने बताएका थिए । नवप्रवेशी युवाहरूले स्थानीय तहदेखि प्रदेश र संघीय राजनीतिसम्म एमालेको नेतृत्व सुदृढ बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेता चिनबहादुर गुरूङले वामपन्थी शक्ति बलियो बनाउन एमालेमा समाहित भएको जनाए ।




















प्रतिक्रिया