१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधन : निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता (पूर्णपाठ)



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको उल्लेख गरे । राष्ट्रिपति पौडेलले भने, “निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको छ । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व हो ।”

उनले निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने विश्वास व्यक्त गरे । “देशले विगतका केही वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । लामो सङ्घर्ष र त्यागपछि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । सबैलाई थाहा छ, आज नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको छ”, राष्ट्रपति पौडेलले भने, “यस निर्वाचनले निरङ्कुशताविरुद्ध लामो सङ्घर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ ।”

सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, दलित, महिला तथा विपन्न समुदायको अधिकारलाई मजबुत बनाउने प्रयास सुरु भएका बताए ।

“पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा उल्लेख्य प्रगतिका साथ देश अगाडि बढिरहेको छ । यी उपलब्धि सहजै प्राप्त भएका होइनन्, यी जनताको बलिदान र अटुट विश्वासका साथै उनीहरूको सक्रिय सहभागिताको परिणाम हुन्”, सम्बोधनमा उनले भने ।

सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गनुपर्ने आश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको पूर्णपाठ यसप्रकार छः

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,

यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रुपमा हुन गइरहेको छ । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र होइन, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर पनि हो ।

देशले विगतका केही वर्षहरूमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । लामो सङ्घर्ष र त्यागपछि हामीले लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेका छौँ । सबैलाई थाहा छ, आज नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको छ ।

हामीले सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरेका छौँ । सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, दलित, महिला तथा विपन्न समुदायको अधिकारलाई मजबुत बनाउने प्रयास सुरु भएका छन् । पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा देश उल्लेख्य प्रगतिका साथ अगाडि बढिरहेको छ । जगजाहेर छ कि, यी उपलब्धिहरू सहजै प्राप्त भएका होइनन्, यी जनताको बलिदान र अटुट विश्वासको साथै उनीहरूको सक्रिय सहभागिताको परिणाम हुन् ।

यद्यपि, हामीले सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझै काम गनुपर्ने छ । मलाई विश्वास छ, आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्नेछ । यो निर्वाचनले निरङ्कुशताविरुद्ध लामो सङ्घर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ । र, हाम्रो लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने छ ।

यो निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्ने छ र नयाँ उचाइमा पु¥याउने छ भन्नेमा म विश्वस्त छु ।

यो निर्वाचन हाम्रा लागि पछिल्ला उपलब्धिहरूको रक्षा र प्रवद्र्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व पनि हो । म सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायहरूलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन आग्रह गर्दछु ।

मतभिन्नता स्वाभाविक हो, तर सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान हाम्रो साझा मूल्य हुनुपर्छ । आउनुहोस्, हामी सबै मिलेर लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवद्र्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी बनौँ ।

जय नेपाल !

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : ४३ बजे

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको