११ चैत्र २०८२, बुधबार | March 25, 2026

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन



भोजपुर । बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ रोजेका छन् । बाँदरको दुःख कम नभएपछि ग्रामीण बस्तीहरू क्रमशः सुनसान बन्दै गएका छन् ।

स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्नै लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन् । खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुनः फर्किने भएकाले नियन्त्रण गर्न झन् कठिन भएको छ । कतिपयले डर देखाउने आकृति बनाएका छन् । खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खेत कुर्ने प्रयास गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।

विशेषगरी मानेभञ्याङ क्षेत्रअन्तर्गत पर्ने रामप्रसादराई गाउँपालिका-५ (साविक वडा नम्बर ८ र ९) मा बाँदरको समस्या ठूलो छ । स्थानीय जगतबहादुर तामाङका अनुसार यस क्षेत्रका करिब ९८ प्रतिशत बासिन्दा बसाइँ सरेपछि गाउँ रित्तो जस्तै भएको छ ।

‘पहिले खेतबारीमा चहलपहल हुन्थ्यो, अहिले घरका ढोका बन्द छन्, आँगनमा झार उम्रिएको छ’, उनले भने । अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरियालगायतका बस्तीहरूमा अहिले अधिकांश घरहरू जीर्ण र खाली अवस्थामा छन् । एक समय हराभरा देखिने खेतबारी बाँझै छाडिएका छन् ।

खेतका कान्ला र पाखाहरू झाडीले ढाक्न थालेका छन् भने कतिपय स्थानमा बारी नै जङ्गलमा परिणत हुन थालेको छ । उत्पादनमुखी जमिन उपयोगविहीन बन्दै जाँदा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ ।

किसानहरूका अनुसार मकै, कोदो, फापर, गहुँ, आलु तथा तरकारी जस्ता अन्नबाली बाँदरले नष्ट गरिदिने गरेको छ । ‘बाँदरले लगाएको बाली छिनभरमै सखाप पारिदिन्छ’, तामाङले गुनासो गरे, ‘दिनभरि खेतबारी कुरेर बस्न सकिँदैन । मेहिनत गरेर लगाएको बाली जोगाउन नसक्दा धेरैले खेती छाडे । कतिपयले त गाउँ नै छाड्नुपरेको छ ।’

जिल्लाका अन्य स्थानीय तहहरूमा बाँदर समस्या उस्तै गम्भीर रहेको कृषकहरूको गुनासो छ । कृषि नै मुख्य आम्दानीको स्रोत रहेको ग्रामीण परिवारहरू आर्थिक रूपमा मारमा परेका छन् । युवापुस्ता रोजगारीका लागि बाहिरिएपछि बचेका ज्येष्ठ नागरिक र महिलामाथि खेतबारीको जिम्मेवारी थपिएको छ, तर बाँदर आतङ्कका कारण उनीहरू पनि निरुत्साहित भएका छन् ।

स्थानीय सरोकारवालाहरूका अनुसार वनक्षेत्र नजिकका बस्तीहरूमा समस्या चर्को छ । मानवीय बस्ती घट्दै जादा बाँदर बाँकी रहेका बस्ती केन्द्रित बनेका छन् । दीर्घकालीन रूपमा समस्या समाधान नगरे गाउँ रित्तिँदै जाने तथा खेतीयोग्य जमिन पूर्ण रूपमा बाँझिने खतरा बढ्दै गएको किसानहरुको भनाइ छ ।

बाँदर नियन्त्रणका लागि प्रभावकारी नीति निर्माण, वैज्ञानिक व्यवस्थापन, सामूहिक बाली सुरक्षा प्रणाली, क्षतिपूर्ति व्यवस्था तथा वैकल्पिक खेती प्रविधिको विकास आवश्यक रहेको स्थानीयको भनाइ छ । साथै, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानहरुको माग छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ७ : ४० बजे

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर

बेनी-जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत