१० भदौ २०८३, बुधबार | August 26, 2026

पर्यटकको रोजाइमा रास ताल



सुनसरी । सुनसरीमा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका-७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

अरु तालभन्दा फरक विशेषता बोकेको रास तालमा मनोरम दृश्यावलोकनसँगै दिनभर फिसिङ (माछा मार्ने) सुविधा उपलब्ध हुनु यहाँको मुख्य आकर्षण हो । यही कारणले यहाँ दैनिक रूपमा धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्ज तथा भारतका विभिन्न स्थानबाट समेत पर्यटक पुग्ने गरेका छन् ।

विशेषगरी वनभोजका लागि उपयुक्त मानिएको यस क्षेत्रमा एकैपटक १४५ समूहसम्मलाई व्यवस्थापन गर्न सकिने संरचना तयार गरिएको छ । पिकनिक सिजनमा दैनिक आठदेखि १० हजारभन्दा बढी पर्यटक आउने गरेका छन् भने अफसिजनमा पनि अहिले दैनिक दुईतीन सयभन्दा बढी पर्यटकको आवतजावत हुने गरेको रास ताल व्यवस्थापन समितिका सचिव भीमबहादुर माझीले बताए । धेरैजसो पर्यटक मङ्सिर, पुस साथै वैशाख जेठ महिनामा आउने गरेका छन् ।

सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने ६१ हेक्टर क्षेत्रफलमध्ये करिब आठ हेक्टरमा फैलिएको ताललाई राष्ट्रिय विभूति इमानसिंह चेम्जोङसँग जोडेर २०७१ सालदेखि स्थानीय पहलमा पर्यटकीय नमूना क्षेत्रका रूपमा विकास गर्न थालिएको हो । कोशी प्रदेश पर्यटन मन्त्रालयले २०७७-७८ को बजेटअन्तर्गत विनियोजित ८० लाखबाट यहाँ भ्यूटावर, इमानसिंह चेम्जोङको सालिक निर्माण तथा २९ हेक्टर क्षेत्रमा तारबार गरिएको समितिले जनाएको छ । साथै, यहाँ एक सयभन्दा बढी जातजातिको प्रतिनिधित्व हुने नमूना मठमन्दिर, सांस्कृतिक झाँकीसहित मेला लाग्ने तथा सङ्ग्रहालयसमेत निर्माण गरिएको छ ।

समितिका सचिव माझीका अनुसार यहाँ तीन सय शुल्क तिरेपछि बिहान ६ देखि साँझ ६ बजेसम्म माछा मार्न पाइन्छ । पर्यटकले दिनभरमा समातेको माछा आफैँ लैजान पाउँछन्, कतिपयले १० केजीसम्म माछा समातेका छन् । तालमा कमलकार, ग्रास, रहु, नौनीलगायत सात प्रजातिका माछा पाइन्छन् ।

यस तालमा घुम्न आउने पर्यटकले बोटिङको सुविधा लिन सक्नेछन् भने चिडियाघरमा खरायो, हुचिल, चिल, बाँदर, अजिङ्गरलगायत जीवजनावर अवलोकन गर्न सक्ने सचिव माझीले जानकारी दिए । यस क्षेत्रलाई थप आकर्षक बनाउन तालको बीचमा करिब १५ लाख लागतमा टापु निर्माण गरिएको छ भने तीनवटा काठका पुलमार्फत वारपार गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै, तराई क्षेत्रमा दुर्लभ मानिने सल्ला तथा सिरिसका बिरुवा रोपेर वातावरणीय सौन्दर्य थपिएको छ । करिब २५ लाख लागतमा मुख्य प्रवेशद्वार तथा ट्री हाउससमेत निर्माण गरिएको छ, जहाँबाट सम्पूर्ण तालको दृश्यावलोकन गर्न सकिन्छ ।

पिकनिक तथा बोटिङबाट वार्षिक रूपमा छ देखि सात लाखसम्म आम्दानी हुने गरेको समितिको भनाइ छ । उक्त आम्दानीले ताल संरक्षण तथा पूर्वाधार विकासमा खर्च गरिँदै आएको छ । स्थानीय व्यापारीका अनुसार पर्यटकको आगमनसँगै आसपासका खाजा, नास्ता पसल तथा अन्य व्यवसायसमेत चलायमान भएका छन् । बजेट अभावका कारण केही पूर्वाधार निर्माण अझै अधुरो रहेकाले प्रदेश तथा स्थानीय सरकारबाट लगानी आवश्यक रहेको स्थानीयको भनाइ छ । महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित रास ताललाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न सकिने सम्भावना रहेकाले समिति संरक्षणमा जुटिरहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ७ : २८ बजे

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट

भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको