काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेका छन् ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर विवाद चर्काएका खड्काले मंगलबार पूर्व केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।
धुम्बाराहीको एक होटलमा मंगलबार र बुधबार दुई दिनसम्म बैठक बस्ने स्रोतको दाबी छ । बैठक अघि नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बधाई कार्यक्रम राखिएको खड्का निकट एक पूर्व केन्द्रीय सदस्यले बताए ।
निवर्तमान उपसभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेको समेत बताइएको छ ।
उसअघि लेखकको गिरफ्तारी सम्बन्धमा पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका थिए ।
कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि कांग्रेसले खड्काको क्रियाशील सदस्यता नवीकरण नगर्नेबारे छलफल गरेको थियो । कांग्रेसले आइतबार नै अनुशासन समितिको बैठक समेत बोलाएको थियो ।


















प्रतिक्रिया