काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको डकुमेन्ट्रीको प्रिमियर गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रमियर कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताएका छन् । उनले पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र समन्वयात्मक पहल आवश्यक रहेको समेत जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले सुनदहको डकुमेन्ट्रीको प्रस्तुति र छायांकनको प्रशंसा गर्दै भने, “सुनदहको वास्तविक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । उनले पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्थानीय तहबीच सहकार्य बढाएर सुनदहको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । साथै, रुकुम पूर्वजस्तो हिमाली जिल्लामा पर्यटन विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य रहेको उल्लेख गरेका छन् । आगामी बजेटमार्फत पुराना योजनालाई निरन्तरता दिने र रुकुम पूर्वका पर्यटकीष गन्तव्यको प्रबर्द्धनका लागि बजेट व्यवस्थापनका लागि पहल गर्नेसमेत बताएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेश सांसद दिलकुमारी बुढाले सुनदहलाई “स्वर्गबाट चोइटिएर खसेको टुक्रा”को संज्ञा दिँदै आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण गर्न आग्रह गरेकी छन् । उनले यसको प्रवर्द्धनमा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई “विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्य” रुपमा उल्लेख गरे । उनले सुनदहसहित रुकुम पूर्वका पर्यटकीय गन्तव्यहरुको ब्रान्डिङ गर्नुपर्नेसमेत बताए । उनले भने, “हामीले देशभर रहेका नयाँ गन्तव्यहरुको खोजी गर्ने र विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेछ ।” उनले स्थानीय तहले पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे ।
पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष वमबहादुर बुढाले स्वागत मन्तव्य दिँदै सुनदहको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्न सरोकारवालाहरूसँग अनुरोध गरेका छन् । उनले भने, “सडक, पुल तथा अन्य आधारभूत संरचनाको विकासबिना पर्यटनको दिगो प्रवर्द्धन सम्भव नहुने भएकोले पालिका र वडाको बजेटले पुग्दैन । यसका लागि प्रदेश सरकार र केन्द्र सरकारले बजेट विनियोजन गर्न आग्रह गर्दछु ।”
कार्यक्रमका अध्यक्ष तथा पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले सुनदहमा अपार पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए । उनले पुथा उत्तरगंगा सांस्कृतिक रूपमा पनि समृद्ध रहेको उल्लेख गर्दै एकीकृत रूपमा पर्यटन विकास अगाडि बढाउनुपर्ने धारणा राखे । २८ मिनेटको यो डकुमेन्ट्री प्रिमियर कार्यक्रमले सुनदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्नेमा गाउँपालिका अध्यक्षले विश्वास व्यक्त गरेका छन् ।
समुद्री सतहबाट चार हजार ४३५ मिटर उचाइमा रहेको सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलका रूपमा चिनिन्छ । यहाँ रेड पाण्डा, कस्तुरीलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गी, यार्सागुम्बाजस्ता बहुमूल्य जडिबुटी पाइने भएकाले जैविक विविधताको दृष्टिले समेत यसको उच्च महत्व रहेको छ ।
तस्बिर स्रोत : मनिष अर्याल ।


















प्रतिक्रिया