इस्लामावाद । अमेरिका-इरानबीच बढ्दो सैन्य तनावलाई कम गर्दै सम्भावित युद्ध टार्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका सक्रिय बनाएको छ । यसैक्रममा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर इरानको राजधानी तेहरान पुगेका छन् ।
प्रधानमन्त्री सरिफ बुधबार साउदी अरबको जेद्दाह पुगेका हुन् । त्यहाँ उनले साउदी युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मध्यपूर्व क्षेत्रमा शान्ति कायम गर्न साउदी अरबको भूमिकालाई महत्वपूर्ण मानिँदै अमेरिका-इरान वार्ताका लागि क्षेत्रीय समर्थन जुटाउने उद्देश्यले भ्रमण केन्द्रित रहेको बताइएको छ । साउदी अरबपछि सरिफ कतार र टर्कीको समेत भ्रमणमा जाने कार्यक्रम छ ।
यता, पाकिस्तानी सेना प्रमुख असिम मुनिर उच्चस्तरीय टोलीसहित बुधबारै इरान पुगेका छन् । तेहरानमा उनलाई इरानी विदेशमन्त्री अब्बास अराघ्चीले स्वागत गरेका थिए । मुनिरले वासिङ्टनबाट आएको विशेष सन्देश इरानी नेतृत्वलाई हस्तान्तरण गर्ने र आगामी वार्ताको खाका तयार पार्ने अपेक्षा गरिएको छ ।
गत साता इस्लामावादमा अमेरिका र इरानबीच दशकौँपछि उच्चस्तरीय वार्ता भएको थियो । यद्यपि, उक्त वार्तामा पूर्ण सहमति जुट्न सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसै साता पुनः वार्ता हुनसक्ने संकेत गरेका छन् । अप्रिल २२ मा सकिन लागेको अस्थायी युद्धविरामलाई लम्ब्याउनु अहिलेको मुख्य चुनौती बनेको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वमा हालसम्म ३ हजार ३ सयभन्दा बढी मानिसको ज्यान गइसकेको बताइएको छ । हर्मुज जलसन्धिमा अवरोध हुँदा विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित भएको छ ।
संयुक्त राष्ट्रसंघीय परमाणु एजेन्सीका प्रमुख राफेल ग्रोसीले अमेरिका-इरान सम्झौतामा इरानको परमाणु गतिविधिमाथि कडा प्रमाणीकरण व्यवस्था समावेश गर्नुपर्नेमा जोड दिएका छन् ।


















प्रतिक्रिया