काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल फर पिस २०२६’ आयोजना हुने भएको छ । टुर दी लुम्बिनीले आज यहाँ पत्रकार सम्मेलन गरी यही वैशाख १५ गतेदेखि १९ गतेसम्म काठमाडौँबाट लुम्बिनीसम्म साइकलयात्रा गर्न लागिएको जनाएको हो ।
पत्रकार सम्मेलनमा टुर दी लुम्बिनीका संस्थापक अशोका फेलो मेघ आलेले शान्तिका लागि आयोजना गरिएको साइकलयात्रामा नेपाल तथा विदेशका साइकलयात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीको सक्रिय सहभागिता रहने जानकारी दिए । शान्ति, सहअस्तित्व र पुननिर्माणको सन्देशलाई जनस्तरसम्म पु¥याउने लक्ष्यसहित सन् २०१२ देखि यो अभियान सञ्चालन हुँदै आएको छ ।
सामाजिक उद्यमीसमेत रहेका आलेको अवधारणामा सुरु भएको उक्त अभियानलाई विश्व साइकलयात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित अभियानले नेपाललाई अन्तरराष्ट्रियस्तरमा ‘शान्ति केन्द्र’का रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको छ ।
नेपाल भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले विश्व शान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक आलेले विश्वास व्यक्त गरे । उक्त अभियानमार्फत नेपाललाई शान्ति संवादको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको उनले बताए ।
पत्रकार सम्मलेनमा संस्थापक आलेले विश्वव्यापी रूपमा रूस–युक्रेन युद्ध तथा अमेरिका–इरान तनावजस्ता घटनाले बढाएको अस्थिरताका सन्दर्भमा यस किसिमका शान्ति अभियानको महत्व अझै बढेको बताए । उनका अनुसार अभियानले भविष्यमा शान्ति क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने योजना पनि अघि सारेको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले यस किसिमका कार्यक्रमले नेपाललाई अन्तरराष्ट्रिय रूपमा ब्रान्डिङ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


















प्रतिक्रिया