२० बैशाख २०८३, आइतबार | May 3, 2026

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक



खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् ।

मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसेमैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले जो कोहीको मनलाई मोहित बनाउने गरेको छ ।

खोटाङको साकेला गाउँपालिका-३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट सुरु भएको मुन्दुम ट्रेल आसपासका वनमा फुलेका लालीगुराँस, चिमाल तथा चाँप हेर्न यतिबेला आन्तरिक तथा बाह्य पर्यटक मुन्दुम ट्रेल आउने गरेको स्थानीयले बताएका छन् ।

हालै मात्र मुन्दुम ट्रेलको पदयात्रा पूरा गर्नुभएका हिँड्ने मान्छे उपनामले चिनिनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारका ओजनबाबु आचार्य नेतृत्वको टोलीले उक्त क्षेत्र निकै मनोहक रहेको बताएको छ ।

उक्त टोलीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका लालबहादुर मगर ‘एलबी’, हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारका सञ्जिव राई र साकेला गाउँपालिका-३ खिदिमाका सन्जित राई सहभागी थिए । मुन्दुम ट्रेलको चारदिने यात्रा पूरा गरेर फर्किएको टोलीले सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा राखेका विभिन्न रङ र प्रजातिका गुराँसका तस्वीर अहिले धेरैको रोजाइमा परेको छ ।

हिँड्ने मान्छेको टोलीले खिचेर सार्वजनिक गरेका गुराँसका तस्वीरहरु जिल्लाका प्रकृतिप्रेमीले आफ्नो फेसबुकमा राख्दै मुन्दुम ट्रेलको वर्णन गरिरहेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरका प्रभावले झनै गुराँस अवलोकन गर्नका लागि मुन्दुम ट्रेल जाने अन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

मुन्दुम ट्रेल प्रकृतिको अनुपम उपहार भएकाले हरेक वर्ष कम्तिमा पनि दुई पटक वसन्त र शरद् ऋतुमा यात्रा गर्न जाने गरेको हिँड्ने मान्छेले बताएका छन । “मुन्दुम ट्रेलमा यतिबेला विभिन्न रङ तथा प्रजातिका गुराँस ढकमक्क भएर फुलेका हुन्छन् । अन्य ठाउँमा पाखामा गुराँस फुलेको पाइन्छ । तर, यहाँ घाँसै मैदानमै ढकमक्क भएर गुराँस फुलेको भेटिन्छ”, उनले भने, “शरद ऋतुमा लेकाली फूलहरु फुल्छन् । मुन्दुम ट्रेल प्रकृतिप्रेमीका लागि अनुपम उपहार हो । मुन्दुम ट्रेलमा ठूल्ठूला घाँसेमैदान छन् । त्यो अवलोकन गर्दा स्वर्गीय आनन्द आउँछ ।”

प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको अद्वितीय सङ्गमका रूपमा स्थापित मुन्दुम ट्रेल क्षेत्र यतिबेला गुराँसले ढकमक्क ढाकिँदै झन् रमणीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । मुन्दुम ट्रेल आसपासका क्षेत्रमा पर्ने मैयुङका फाँटमा विभिन्न १८ प्रजातिका गुराँस पहिचान भएको र अझै यकीन तथ्याङ्क आउन बाँकी रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

कामको थकान मेटाउन र प्रकृतिसँग रम्न फुर्सदको समय निल्नेबित्तिकै मुन्दुम ट्रेलमा जाने गरेको एलबी मगरले बताएका छन । “मुन्दुम ट्रेल जाँदा प्रकृतिसँग रम्न पाउनुका साथै चौँरीको दूध आफैँले तताएर खान पाइन्छ । त्यहाँका घाँसेमैदानमा पालिएका घोडासमेत चढ्न पाइन्छ”, उनले भने, “यसपटकको मुन्दुम ट्रेलको यात्रा झनै अविस्मरणीय रह्यो । त्यति धेरै रङ र प्रजातिका गुराँस पहिलो पटक प्रत्यक्ष अवलोकन गर्न पाउँदा आनन्दित महसुस भएको छ ।”

वसन्त ऋतु सुरु भएसँगै आसपासका स्थानीय बासिन्दाले भेँडा, चौँरी र घोडा चरणका लागि मुन्दुम ट्रेल आसपासका घाँसेमैदानमा लाने गरेका छन् । मुन्दुम ट्रेल आसपासमा पर्ने मैयुङ, मेरुङ र धोद्रे क्षेत्रमा रहेका घाँसेमैदान भेँडापालनका लागि उपयुक्त ठाउँ भएकाले दर्जनौँ भेँडी चोक तथा चौँरीको गोठ हुने गरेको केपिलासगढी गाउँपालिक-१ फेदीका भेँडापालक लक्ष्मण साम्पाङ ‘समीप’ले बताएका छन ।

पूर्वीपहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किराँत समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । खोटाङ र भोजपुरको सीमामा पर्ने मुन्दुम ट्रेल तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ ।

पहाडैपहाडको चुचुरामा निर्माण गरिएको मुन्दुम ट्रेल पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने गरेको छ । वसन्त ऋतुमा हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि ढकमक्क फुलेका गुराँस अवलोकन गर्दै यात्रा गर्दा थकानको महसुससमेत नहुने मैयुङ-टेम्क-साल्पा-सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिएका छन ।

ठूल्ठूला घाँसेमैदान, फराकिला चौँरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । पदमार्गमा अधिकांश किराँत समुदायका वस्तीहरु रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले यो पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो ।

मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, थार, भिरमौरी तथा विभिन्न प्रजातिका जङ्गली जनावरसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । डेढ दर्जनभन्दा बढी प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।

मानवबस्ती कम पाइने मुन्दुम ट्रेलमा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । परम्परागत रुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर गोठ-स्टे (गोठवास)को व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ७ : ५५ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज