काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ । आज विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रममार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो ।
मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतीकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताए । उनले आगामी जेठ १८ देखि असोज १४ सम्म रहने मनसुनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जानकारी दिए ।
उनका अनुसार विभागले विश्व मौसम सङ्गठनअन्तर्गत विश्व तथा क्षेत्रीय जलवायु सूचना उत्पादन केन्द्रहरूको हावापानी प्रारूप, दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ)लगायतका अन्तरराष्ट्रिय जलवायु मोडेलहरूको विश्लेषणका आधारमा मनसुनको ऋतुगत आकलन तयार गरेको हो ।
आकलनमा पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल–निनो साउदर्न ओस्सिलेसन (इएनएसओ), हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डाइपोल (आइओडी), युरोप तथा एसियामा हिउँद र प्रिमनसुन अवधिमा परेको हिमपात तथा अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत आधार बनाइएको विभागले जनाएको छ ।
हाल प्रशान्त महासागरमा इएनएसओ तटस्थ अवस्थामा रहे पनि एल–निनोतर्फ उन्मुख रहेको तथा हिन्द महासागरमा विकसित हुने आइओडी पनि अहिले तटस्थ अवस्थामा रहेको हुमागाईँले बताए । उनका अनुसार आगामी मनसुनको अन्त्यसम्ममा आइओडी सकारात्मक अवस्थामा पुग्ने सम्भावना विभिन्न विश्वव्यापी जलवायु मोडेलहरूले देखाएका छन् ।
यद्यपि, ऋतुगत जलवायु समुद्री तथा वायुमण्डलीय प्रणाली, भूउपयोगलगायत विविध कारकमा निर्भर रहने भएकाले जलवायु प्रारूपहरूलाई शतप्रतिशत विश्वसनीय मान्न कठिन हुने उहाँले स्पष्ट पारे ।
गत वर्षको मनसुनको समीक्षा गर्दै उनले विभागले २०८२ सालको मनसुनमा अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरे पनि देशका धेरैजसो केन्द्रमा सरदरभन्दा कमदेखि सरदर वर्षा मापन भएको जानकारी दिए । केही स्थानमा भने सरदरभन्दा बढी वर्षा भएको थियो ।
तापक्रमतर्फ भने विभागको आकलनअनुसार नै अधिकांश स्थानमा सरदरभन्दा बढी अधिकतम तथा न्यूनतम तापक्रम रेकर्ड भएको उनले बताए ।
विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग तथा कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।
कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताइएको छ । बाँकी अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आकलन छ ।
साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न भूभागमा सरदरभन्दा बढी तापक्रम रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
त्यस्तै, देशभर सरदरभन्दा न्यूनतम तापक्रम बढ्ने विभागको निष्कर्ष छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको बताइएको छ ।
विभागअन्तर्गत हावापानी विश्लेषण शाखाका इञ्जार्ज सुजन सुवेदीले मनसुन नेपालको सबैभन्दा संवेदनशील मौसम प्रणाली भएको उल्लेख गर्दै वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुन अवधिमै हुने जानकारी दिए । उनका अनुसार गत वर्ष मनसुन औसतभन्दा १५ दिन अगाडि नेपाल प्रवेश गरेको थियो भने बहिर्गमन आठ दिन ढिला भएको थियो । दीर्घकालीन प्रवृत्ति हेर्दा मनसुन चाँडै सुरु हुने र ढिलो सकिने क्रम देखिएको उनले बताए ।
गत वर्षको मनसुनका लागि विभागले औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको थियो । जुलाइको सुरुमा अद्यावधिक गर्दा विशेषगरी तराई क्षेत्रमा वर्षा सम्भावना अझ बढाइएको उनले जानकारी दिए । तथापि, जुनदेखि सेप्टेम्बरसम्मको अवधिमा औसतको करिब ९० प्रतिशतमात्रै वर्षा भएको उनले बताए ।
गत अक्टोबरमा भएको असाधारण वर्षाले समग्र मनसुन अवधिको वर्षा परिमाण बढाएको उनले उल्लेख गरे । अक्टोबरमा नेपालका धेरै स्थानमा २०० मिलीमिटरभन्दा बढी वर्षा भएको तथा १५ भन्दा बढी स्टेशनमा ६०० मिलीमिटरभन्दा बढी वर्षा रेकर्ड भएको उनले जानकारी दिए ।
उनले पश्चिम बङ्गाल क्षेत्रमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण पनि नेपालमा भारी वर्षा भएको बताए । त्यसले समग्र मनसुन वर्षामा अतिरिक्त योगदान गरेको उनको भनाइ थियो ।
सुवेदीले नेपालमा क्षेत्रीय तहमा मनसुन पूर्वानुमान अझै चुनौतीपूर्ण रहेको स्वीकार गरे । सुवेदीले मौसम तथा जलवायु अध्ययनमा स्थानीय भूगोल, वर्षाको वितरण र दीर्घकालीन तथ्याङ्कको महत्त्व अत्यधिक रहने उल्लेख गर्दै वैज्ञानिक पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन निरन्तर अध्ययन र सुधार आवश्यक रहेको बताए ।
जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले सुपर एल निनोले दक्षिणी एसियाली देशमा आउने मनसुनी अवधिमा औसतभन्दा कम वर्षा तथा औसतभन्दा बढी गर्मीको सम्भावना देखाएको छ ।




















प्रतिक्रिया