नेपालगन्ज । सरकारले मालपोत लगायतका कार्यालयहरूबाट बिचौलिया हटाउने निर्णय गरेसँगै त्यस्ता कार्यालयहरूमा अनुमति प्राप्त व्यक्ति र संस्थाहरूको ‘सेण्डीकेट’ सुरु भएको छ । बिचौलियाहरूले प्रतिस्पर्धामा सस्तो शुल्कमा गरिदिने काम अनुमति प्राप्त संस्थाहरूले दर रेट नै टाँसेर ‘लुटधन्दा’ मच्चाउन थालेका छन् ।
सरकारी कार्यालयहरूबाट बिचौलियाहरूको अन्त्य गरिएको नाममा सेवाग्राहीहरूले चर्को मूल्य चुकाउनुपर्ने बाध्यता त्यस्ता कार्यालयहरूमा सुरु भएको छ । बाँकेको नेपालगन्जस्थित साबिक मालपोत कार्यालय र हाल भूमि प्रशासन कार्यालय बनेको कार्यालयमा आएका सेवाग्राहीहरूले अनुमति प्राप्त लेखापढी व्यवसायीहरूलाई चर्को शुल्क बुझाउनु परेको गुनासो गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा नेपालगन्ज स्थित मालपोत कार्यालयमा भएको आगजनीबाट भौतिक कागजात जलेपछि यतिबेला कार्यालयमा श्रेष्ता कायम गर्ने सेवाग्राहीको भीड लाग्ने गरेको छ । कार्यालयले निशुल्क गरिदिने श्रेष्ता कायमको कामलाई लेखापढी व्यवसायीहरूले मनपरि मूल्य ताकेर सेवाग्राहीमाथि शोषण गर्ने गरेका हुन् । बिचौलियाहरूले ५ सय रुपैयाँ लिएर गरिदिने कार्य लेखापढी व्यवसायीहरूले मूल्य नै तोकेर प्रतिलालपूर्जा २ हजार ५ सय लिने गरेका छन् ।
बाँके नरैनापुरका पतिराम भुजुवाले आफ्नो ६ वटा लालपुर्जाको प्रतिलालपुर्जा २ हजार ५०० का दरले लेखापढी व्यवसायीलाई पैसा तिरेर श्रेष्ता कायम गराए । निवेदन लेख्नेदेखि फाँटमा काम गराएर हातमा लालपुर्जा दिँदा सम्मको प्रति लालपुर्जा २ हजार ५०० तिरेको उनले बताए । लेखापढी व्यवसायीको नाम भने उनले भन्न मानेनन् । नाम सार्वजनिक गर्दा श्रेष्ता कायम नहुने डर उनीमा देखियो । ‘फाँट फाँट दौडन् सम्भव देखिन, त्यसैले आफुखुसी लेखन्दासलाई पैसा दिएँ ।’ उनले भने ।
नेपालगन्जको मालपोत कार्यालयमा आगजनी भएपछि हाल भाडाको घरमा कार्यालय संचालनमा छ । सामान्य श्रेष्ता कायम गर्न एउटा फाँटमा कम्तीमा ३ देखि ४ पटक पुग्नुपर्ने र दर्तादेखि काम सम्पन्न हुँदासम्म दुईदेखि तीन घण्टा लाग्ने झन्झटिलो प्रक्रियाका कारण सेवाग्राहीहरू बिचौलिया वा लेखापढी व्यवसायीबाट काम गराउन बाध्य छन् । ३ तलाको कार्यालयमा सामान्य श्रेष्ता कायम गर्दा ३ पटकसम्म तल्लो तला र ३ तला धाउनुपर्ने मालपोतको प्रक्रिया रहेको छ । आवेदन, तोक, दर्ता, मोठ, फाँट, अनलाईन पुनः फाँट र अधिकृतबाट हस्ताक्षर गराउन आफै दौडनु दूरदराजबाट आएका सामान्य नागरिकका लागि असम्भव जस्तै देखिन्छ ।
नेपालगन्ज–११ पासाङ ल्हामु मार्गका चन्दीका प्रसाद आफ्नो जग्गा फुकुवाका लागि मालपोत पुगेका थिए । उनले पनि त्यहाँ लागेको भीड र प्रक्रिया हेर्दा आफै गर्न सक्ने जस्तो देखेनन् । उनले लेखापढी व्यवसायीलाई १ हजार ५०० तिरेर फुकुवाको काम गराए । ६० वर्ष नाघेका उनी ३ तला तलमाथि गर्न सम्भव नदेखिएपछि लेखापढी व्यवसायी गुहार्न बाध्य भए । फुकुवालाई एक घण्टा लाग्ने कामलाई १ हजार ५०० लिनु महङ्गो भएको चन्दीकाको भनाई छ । सरकारले स्मार्ट सेवा भनेपनि मालपोत परम्पराबाट माथि उठ्न नसकेको उनको गुनासो छ ।
राप्ती सोनारीबाट श्रेष्ता कायम गर्न आएकी नारायणी थारुले २ हजार रुपैयाँ लेखापढी व्यवसायीलाई तिरेर श्रेष्ता कायम गराइन् । उनले पनि कार्यालयको प्रक्रिया अनुसार आफुले गर्न नसक्ने देखेपछि लेखापढी व्यवसायी खोजेको बताइन् ।
नेपालगन्जका सुरेश आचार्य सरकारको स्मार्ट सेवाको सूचनाका आधारमा एक ठाँउमा फायल बुझाएपछि सनाखत बाहेक फायल बोकेर हिँड्नु नपर्ने आशा गर्दै कार्यालय पुगेका थिए, तर कार्यालयको हालत देखेपछि उनलाई स्मार्ट सेवा सरकारको हल्ला गर्ने माध्यम मात्र रहेको महुशुस भयो ।
सरकारले कार्यालय परिषरलाई बिचौलिया मुक्त क्षेत्र बनाउने भनेपनि कार्यालय परिषर भित्रै लेखापढी व्यवसायी, भू–सेवाका प्रतिनिधिहरू कार्यालय खडा गरेर बसेका छन् । व्यवसायीका कर्मचारीहरूले सेवाग्राहीको हात तानेर बोलाई बोलाई असुल गर्ने कार्य मालपोत बाँकेमा रोकिएको छैन ।
मालपोत बाँकेका प्रमुख सबिन सिंह चौधरीले लेखापढी व्यवसायीले लिने शुल्कलाई कार्यालयले निषेध वा नियन्त्रण गर्न नसक्ने बताउँछन् । सरकारको निर्देशन अनुसार बिचौलियालाई निषेध गरिए पनि अनुमति प्राप्त लेखापढी व्यवसायी, कानुन व्यवसायी र भू–सेवा अनुमति लिएकालाई अवरोध गर्न नमिल्ने चौधरीले बताए । ‘कार्यालयले ताकिएको बाहेक कुनै शुल्क लिँदैन,’ उनले भने, ‘लेखापढी, कानुन व्यवसायी र भू–सेवाको शुल्क तोक्ने अधिकार कार्यालयलाई छैन ।’

लेखापढी व्यवसायीले संस्थागत निर्णय नै गरेर मालपोतमा सेवा शुल्क असुल्ने गरेका छन् । व्यवसायीहरू साधारण भरपाई वारिसनामा, मन्जुरीनामा, कपाली तमसुक, बयानाबट्टामा प्रति कागज ५००, लिखत नक्कल श्रेस्ता नक्कल पिल्डबुक नक्कल प्रति निवेदन ५००, वड़ा प्रमाणित कपालि तमसुक बयानाबट्टा करारनामा लिखत प्रतिलिखत १०००, दृष्टिबन्धक, बैकको, अदालतको फुकुवा, निवेदन या पत्रको १ हजार ५००, राजिनामा, बकसपत्र, दृष्टिवन्धक, बैंक रोक्का पारित लिखतको २ हजार ५००, आगजनीमा नष्ट भएको नयाँ श्रेस्ता कायमको निवेदन प्रति फाईल २ हजार, संगोलनामा, छोडपत्र, दर्ताफाँरी, सट्टापट्टा पारित प्रति लिखत ३ हजार लिने गरेका छन् ।
त्यसैगरि र हालसाविक, मृतकबाट जग्गा नामसारी निवेदन प्रतिफाईल ४ हजार, संशोधन कित्ता एकीकरण, श्रेस्ता अध्यावधिक निवेदनको २ हजार ५००, मोही दा.खा, अदालत दा.खा, शेषपछि दाखा निवेदनको ३ हजार र अंशवण्डा, अंश भरपाई प्रति अंशियार ३ हजार असुल गर्ने गरेका छन् ।
कार्यालयमा फाँट धाउने झण्झट र प्रक्रिया नबुझ्दा सेवाग्रहीहरू लेखापढी व्यवसायीलाई काम लगाउन बाध्य हुने गरेको हिरमनियाका स्थानीय समरसबहादुर सिंह बताउँछन् ।
कार्यालय प्रमुख चौधरीले आगजनीपछि कार्यालय रहेको स्थान सेवाग्राही मैत्री नभएको स्वीकार गरे । मुल कार्यालयमा आगजनी भएपछि स्थायी व्यवस्था नहुँदा सम्मका लागि लिइएको भवन सेवाग्राही मैत्री नभएका कारण सेवाग्राहीलाई असहज भएको उनले बताए । पुरानै प्रक्रिया, परिपाटी र प्रबिधिमा सकेसम्म सेवालाई प्रभावकारी बनाउने प्रयास गरिएको उनले बताए । सेवालाई प्रविधियुक्त बनाउन पूर्ण डिजिटल प्रणाली र उपर्युक्त वातावरण आवश्यक पर्ने उनले बताए । कर्मचारीहरूको तर्फबाट अधिकतम सेवा प्रदान गरिएको उनको दाबी छ ।
त्यसो त बाँके–३ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइको सक्रियतामा संचालन गरिएको सहायता कक्षबाट निशुल्क निवेदन लेख्ने, भू–सेवा तथा परामर्शको सेवा प्रदान गरिएपनि फायल बोकेर फाँट धाउनु पर्ने झण्झटबाट बच्न सहायता कक्षबाट सेवा नलिने सेवाग्राहीहरू मालपोतमा प्रसस्त भेटिए । मालपोत पुगेका सेवाग्राहीले एक ठाँउमा फायल बुझाएपछि सनाखत र बायो मेट्रिक बाहेकका अवस्थामा फाँट फाँट धाउनु पर्ने बाध्यताको अनत्य गर्न सरकारसँग माग गरेका छन् ।




















प्रतिक्रिया