काठमाडौं । सामाजिक सञ्जालमा एक उपभोक्ताले माउन्टेन डिउ सेवन गरेपछि वाकवाकी लागेको भिडियो सार्वजनिक गरेपछि सरकारले घटनाप्रति गम्भीर चासो देखाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित ब्याचको उत्पादनमाथि अनुगमन गर्दै तत्कालका लागि बिक्री–वितरणमा रोक लगाएको जनाएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिकाका एक उपभोक्ताले माउन्टेन डिउ सेवन गरेपछि अस्वाभाविक महसुस भएको र वाकवाकी आएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए । उक्त गुनासोपछि विभागको ‘र्यापिड रेस्पोन्स टिम’ले तत्काल अनुगमन सुरु गरेको हो ।
विभागका अनुसार प्रभावित उत्पादन ब्याच नं. १६८, उत्पादन मिति २०२६-०४-०६ को २५० मिलिलिटर प्याक हो । अनुगमनका क्रममा काठमाडौं महानगरपालिका-३२ स्थित वरुण बेभरेजमा उक्त ब्याचको एक क्रेट मात्र गोदाममा फेला परेको तथा बाँकी स्टक डिलरहरूकहाँ पठाइसकिएको पाइएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा उत्पादनमा प्रयोग गरिएका कच्चा पदार्थ भने उपभोग्य मितिभित्रकै रहेको विभागले उल्लेख गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले कम्पनीलाई पाँच दिनभित्र उक्त ब्याचमा प्रयोग भएका कच्चा पदार्थको विस्तृत विवरण तथा खाद्य स्वच्छतासम्बन्धी अभिलेख पेश गर्न निर्देशन दिएको छ ।
साथै, सम्बन्धित ब्याचको नमुना संकलन गरी थप परीक्षणका लागि प्रयोगशालामा पठाइएको विभागले जनाएको छ । प्रयोगशालाको अन्तिम प्रतिवेदन नआएसम्म ब्याच नं. १६८ का उत्पादन बिक्री-वितरण नगर्न उद्योग तथा सम्बन्धित डिलरहरूलाई कडा निर्देशन दिइएको छ ।
विभागले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको उल्लेख गर्दै दोषी पाइए कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।




















प्रतिक्रिया