२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार



नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित गैँडाकोट इङ्गलिस स्कुलले नगदसहित सम्मान गरेको छ ।

विद्यालयबाट चार जिपिए ल्याई उत्तीर्ण हुने विद्यार्थी तेजस्वी पन्तलाई गैँडाकोट नगरपालिका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला तथा विद्यालयका प्रधानाध्यापक हीरालाल अर्यालले रु एक लाख नगदसहित सम्मान गरेका हुन् । आज भएको नगद पुरस्कार हस्तान्तरण तथा सम्मान कार्यक्रममा नगर शिक्षा अधिकारी कोइरालाले विद्यालय तहको पाठ्यक्रमले धेरै जिपिए ल्याउन मद्दत गरेको भए पनि नम्रता, अनुशासन र सामाजिक मूल्य र मान्यतामा विद्यार्थी कमजोर रहेको बताए । जिपिए मात्रै सबै कुरा नभएको भन्दै आचार्यले गुणस्तरीय शिक्षा प्राप्त गर्ने प्रक्रियामा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकले जोड दिनुपर्ने बताए ।

अहिले विद्यार्थीहरू शिक्षामा अब्बल हुँदै गएको भए पनि नैतिकता, सदाचारी, अनुशासित विद्यार्थी उत्पादन हुन नसकेको आचार्यले बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्यालले विद्यालयको पछिल्लो पाँचवर्षे शैक्षिक गतिविधिको समीक्षा गर्दै विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताए । उनले यस विद्यालय आफ्नो विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीका औषत जिपिए ३ दशमलव ४५ रहेको भन्दै सबैभन्दा बढी औषत जिपिए अङ्ग्रेजीमा ३ दशमलव ८० रहेको जानकारी दिए ।

विद्यार्थीले उच्च जिपिएसहित एसइई उत्तीर्ण रहेको भन्दै आगामी वर्षमा यसलाई निरन्तरता दिन सक्नुपर्नेमा प्रधानाध्यापक अर्यालले जोड दिए । उक्त कार्यक्रममा जिपिए चार ल्याउने विद्यार्थी तेजस्वी पन्तले आफ्नो नियमित पढाइसँगै शिक्षक र अभिभावकको सहकार्यले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताइन् । अध्ययनका क्रममा पाठ घोकेरभन्दा पनि विषयवस्तुलाई राम्रोसँग बुझेर पढ्न सकेमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने पन्तले बताइन् ।

गएको आइतबार सार्वजनिक भएको २०८२ को एसइईको नतिजाअनुसार जिल्लाबाट १९ जना विद्यार्थीले जिपिए ४ प्राप्त गरेका छन् । प्राविधिकसहित सामुदायिक र संस्थागत गरी जिल्लाका १४३ विद्यालयबाट पाँच हजार ६९७ विद्यार्थी एसइईमा सहभागी भएमा चार हजार १३० जना उत्तीर्ण भएका छन् । जिल्लाबाट ७२ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ९ : २८ बजे

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

रविको प्रश्नपछि बालेनको जवाफ : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि