६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

डोजर चलाउने निर्णय सच्याउन एक साताको अल्टिमेटम



बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिएका छन् । गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउन जारी गरेको सूचनाको विरोध गर्दै उनीहरूले सोमबार गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै निर्णय सच्याउन एक साताको अल्टिमेटम दिएका हुन् ।

संघीय सरकार तथा सम्बन्धित मन्त्रालयको निर्देशनअनुसार सार्वजनिक जग्गा संरक्षण गर्ने भन्दै गाउँपालिकाले १५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनापछि गाउँपालिकाभित्र रहेका हजारौँ सुकुम्बासी परिवार विस्थापित हुने अवस्था सिर्जना भएको भन्दै संघर्ष समितिले विरोध जनाएको हो ।

संघर्ष समितिका संयोजक पुण्यराम गौतमले शुद्धोधन गाउँपालिकामा करिब १० हजारभन्दा बढी घरपरिवार सुकुम्बासी जग्गामा बसोबास गर्दै आएको बताए । सार्वजनिक जग्गा संरक्षणका नाममा डोजर आतंक मच्चाएर नागरिकलाई त्रसित पार्नु गलत भएको उनको भनाइ थियो ।

ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभामा बोल्दै गौतमले सीमा क्षेत्रमा खटिनुपर्ने सुरक्षाकर्मी र डोजर गरिबको बस्तीमा प्रयोग गरेर सरकारले गम्भीर गल्ती गरेको टिप्पणी गरे ।

कार्यक्रममा कोपिला सापकोटाले स्थानीय सरकारले सुकुम्बासीको घर नभत्काउने आश्वासन दिए पनि त्यसमा पूर्ण विश्वास गर्ने आधार नरहेको गुनासो गरिन् । यदि कुनै पनि भूमिहीन वा सुकुम्बासीको घरमा डोजर चलाइए आफूहरू चुप लागेर नबस्ने चेतावनी उनले दिइन् ।

यस्तै, मानबहादुर बुढाथोकी, मोतिबहादुर थापालगायत वक्ताहरूले सात दिनभित्र गाउँपालिकाले जारी गरेको सूचना तथा निर्णय फिर्ता नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । जनताको माग सम्बोधन नभए हजारौँको सहभागितामा गाउँपालिकाको निर्णय पुस्तिका नै च्यात्ने अवस्था आउन सक्ने उनीहरूको भनाइ थियो ।

ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले आफू जनताको पक्षमा रहेको बताए । गाउँपालिकाको तर्फबाट नागरिकलाई आतंकित पार्ने कुनै पनि गतिविधि नहुने स्पष्ट पार्दै उनले संघीय सरकारको सर्कुलरअनुसार सूचना जारी गर्न बाध्य भएको उल्लेख गरे ।

अध्यक्ष बस्यालले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको न्यायपूर्ण व्यवस्थापनका पक्षमा गाउँपालिका प्रतिबद्ध रहेको पनि बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ४ : ३९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क