५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी



बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक तथा सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ ।

आयोजनाका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत तथा वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँच वर्षे निर्माण अवधि तय गरिएको यो आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडलमा निर्माण भइरहेको छ ।

यस मोडलअन्तर्गत डिजाइन, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था गरिएको छ । आयोजनाका प्रमुख राजेश पौडेलले आगामी असोजसम्म सुरुङमार्गबाट यातायात सञ्चालन गर्ने लक्ष्यअनुसार कामलाई तीव्रता दिइएको जानकारी दिए ।

उनका अनुसार निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी बहन गर्नेछ । त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) का रूपमा रहने व्यवस्था गरिएको छ ।

आयोजनाको प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण कार्य प्रभावित भएको थियो । नेपालमा ईपीसी मोडलको नयाँ अभ्यास भएकाले आवश्यक कागजात व्यवस्थापन, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनमा समस्या देखिएको आयोजनाले जनाएको छ ।

हाल ती समस्या समाधानतर्फ उन्मुख रहेको र म्याद थप तथा ‘माइलस्टोन’ समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमुख पौडेलले बताए ।

सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको छ । सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भिर संरक्षणसम्बन्धी काम गरिने योजना रहेको आयोजनाले जनाएको छ ।

पैदलयात्रीका लागि ‘रकसेड’भित्र सुरक्षित बाटो निर्माण गरिने तथा बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनसमेत गरिने आयोजनाको तयारी छ । आयोजनाको प्रारम्भिक लागत अनुमान करिब १० अर्ब रुपैयाँ रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्ब रुपैयाँमा सम्झौता गरिएको हो ।

सिद्धार्थ राजमार्गको उक्त खण्ड पहिरो तथा भूक्षयका दृष्टिले अत्यन्त जोखिमयुक्त मानिन्छ । सुरक्षित यात्रा सुनिश्चित गर्नु तथा जनधनको क्षति न्यूनीकरण गर्नु सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ८ : १३ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान