२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ



म्याग्दी । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरु भरिभराउ भएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुङ्ग–तातोपानी र मुस्ताङका सबै पर्यटकीयस्थलमा रहेका होटल पाहुनाले भरिभराउ भएका हुन् ।

म्याग्दीको गलेश्वर, भुरुङ्ग–तातोपानी, रुप्से, महभिर झरना र अन्धगल्छीमा पर्यटकको घुइँचो लागेको छ । गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राका लागि आएका भारतीय तथा लगातार चार दिनको सार्वजनिक बिदाका कारण आन्तरिक पर्यटकको आगमन बढेपछि होटल भरिभराउ भएका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीका होटल व्यवसायी राजु हमालले बताए ।

“भारतबाट गर्मी छल्न आएका र बिदा मनाउन देशका विभिन्न ठाउँबाट आएका पाहुनाले होटल भरिएका छन्”, उनले भने, “मुस्ताङका होटलमा अटाउन नसकेका पाहुनाहरू म्याग्दी,  बागलुङ, कुश्मा र पोखरासम्म व्यवस्थापन गरिएको छ ।”

भुरुङ्ग–तातोपानी कुण्डका सञ्चालक हेमनारायण पुनले मुस्ताङ जाने आउ ने पर्यटकहरुको चापले भ्याइनभ्याई भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बेनी–जोमसोम सडक भएर पछिल्लो चार दिनमा ३० हजार जनाभन्दा बढी पर्यटक भित्रिएका छन् । घाँसा प्रहरी चौकीको अभिलेखअनुसार बुधबार पाँच हजार ५८६, बिहीबार सात हजार ८२७ र शुक्रबार नौ हजार ८६ जना पर्यटक मुस्ताङ भित्रिएका थिए ।

शुक्रबारकै हाराहारीमा शनिबार पनि पर्यटक भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो । प्रहरी चौकी घाँसामा सवारीसाधन र पर्यटकको अभिलेख प्रविष्ट गर्ने गरिएको छ । मुस्ताङका होटलमा एक दिनमा १० हजार पाहुना राख्न सक्ने क्षमता रहेको छ । म्याग्दीका होटलमा दैनिक दुई हजार जना बास बस्न सक्ने क्षमता छ ।

मुस्ताङ भित्रिने अधिकांश स्वदेशी पर्यटक घाँसादेखि चीनको सीमा क्षेत्र कोरलासम्म पुग्ने गरेका छन् । माथिल्लो क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने समस्या हुनसक्ने भएकाले सचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको छ । आन्तरिक पर्यटकको बसाइ सामान्यतया दुईदेखि चार दिनसम्म हुने गरेको छ ।

भारतको बिहारबाट आएका शम्भु साहले गर्मी छल्न र तीर्थयात्राका लागि परिवार तथा छिमेकीहरू मिलेर बस रिजर्भ गरेर मुस्ताङ घुम्न आएको बताए। चार दिनको सार्वजनिक बिदाको सदुपयोग गर्न परिवार र साथीभाइ मिलेर मुस्ताङ तथा ढोरपाटन घुमेर फर्किएको काठमाडौँका हरि न्यौपानेले बताए।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा बाढीपहिरो र स्तरोन्नतिका लागि सवारीसाधन बन्द हुँदा यात्राका क्रममा दुःख भएको पर्यटकहरूले गुनासो गरेका छन् । मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरलानाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो ।
रासस

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ७ : ४० बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ