काठमाडौं । नेपाली इतिहासकै सबैभन्दा दुःखद र रहस्यमय घटनामध्ये एक मानिने नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ । विक्रम संवत् २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत ११ जनाको ज्यान गएको थियो ।
घटनापछि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा युवराज दीपेन्द्रले परिवारका सदस्यमाथि गोली चलाएर अन्ततः आफैंलाई पनि गोली हानेको निष्कर्ष प्रस्तुत गरिएको थियो । तर उक्त प्रतिवेदनप्रति सर्वसाधारणको ठूलो हिस्सा अझै विश्वस्त हुन सकेको छैन ।
दरबार हत्याकाण्डबारे विभिन्न प्रश्न उठ्दै आए पनि घटनाको यथार्थ सत्य सार्वजनिक हुन सकेको छैन । पछिल्ला वर्षहरूमा बनेका विभिन्न सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाए पनि थप अनुसन्धान वा नयाँ तथ्य सार्वजनिक हुन सकेको छैन ।
राजतन्त्रको अन्त्यपछि गणतन्त्र स्थापना भएसँगै नारायणहिटी राजदरबारलाई संग्रहालयका रूपमा रूपान्तरण गरिएको थियो । २०६५ माघ १६ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको नारायणहिटी संग्रहालय अहिले देशकै प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्यमध्ये एक बनेको छ ।
दरबार हत्याकाण्डको मुख्य स्थल मानिने त्रिभुवन सदन भने घटना भएको करिब १४ वर्षपछि भत्काइएको थियो । पछि उक्त स्थानको संरचना पुनः निर्माण गरिएको छ । हत्याकाण्डसँग सम्बन्धित विभिन्न तथ्य र स्मृतिहरूका कारण त्रिभुवन सदन आज पनि धेरैको चासोको केन्द्र बनेको छ ।
संग्रहालयभित्र तत्कालीन राजपरिवारले प्रयोग गरेका विभिन्न सामग्री, श्रीपेच, राजदण्ड, मुकुट, तरबार तथा ऐतिहासिक महत्वका वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । त्यस्तै राजपरिवारका बैठक कक्ष, शयनकक्ष, भोजनकक्ष, अतिथि कक्ष लगायत ५२ वटा कोठा अवलोकनका लागि खुला गरिएको छ । विभिन्न जिल्लाका नाममा निर्माण गरिएका २१ वटा कक्ष पनि संग्रहालयको आकर्षणका रूपमा रहेका छन् ।
नारायणहिटी संग्रहालयमा दैनिक सयौं आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् । विशेषगरी दरबार हत्याकाण्डसँग जोडिएका स्थान अवलोकन गर्न र त्यस घटनाबारे जानकारी लिन पर्यटकहरूको रुचि बढ्दो देखिन्छ ।
राजतन्त्रकालीन नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक इतिहासलाई नजिकबाट बुझ्न सकिने स्थलका रूपमा विकसित हुँदै गएको नारायणहिटी संग्रहालय अहिले विदेशी पर्यटकका लागि अध्ययन केन्द्रसमेत बन्न थालेको छ । काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा घुम्न आउने अधिकांश पर्यटकले नारायणहिटी संग्रहालयलाई आफ्नो भ्रमण सूचीमा समावेश गर्ने गरेका छन् ।
दरबार हत्याकाण्ड भएको एक चौथाइ शताब्दी बितिसक्दा पनि घटनासँग जोडिएका अनेक प्रश्न अझै अनुत्तरित छन् । जेठ १९ आउँदा हरेक वर्षजस्तै यस वर्ष पनि नेपाली समाजले त्यो घटनालाई स्मरण गर्दै सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग दोहोर्याएको छ ।



















प्रतिक्रिया