३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई



बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी छन् । शनिबार बुटवलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो नाममा गरेकी हुन् ।

उपाधिसँगै पोख्रेलले नगद २० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा लक्ष्मी गैरे द्वितीय र आकाश वली तृतीय भएका छन् । द्वितीय हुने गैरेले १५ हजार रुपैयाँ तथा तृतीय हुने वलीले १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनद्वारा आयोजित प्रतियोगिताको उद्देश्य युवाहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा वक्तृत्वकलाको प्रवर्द्धन गर्नु रहेको क्लबका अध्यक्ष आविष्कार खनालले जानकारी दिए । उनका अनुसार पहिलो चरणको अडिसनमा २७ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये उत्कृष्ट १५ जना दोस्रो चरणका लागि छनोट भएका थिए भने अन्ततः उत्कृष्ट पाँच जना फाइनल प्रतिस्पर्धामा पुगेका थिए ।

फाइनलअघि ‘फ्रम प्यासन टु आइकन’ विषयमा प्यानल डिस्कसन आयोजना गरिएको थियो। कार्यक्रममा युवा उद्यमी मोहन ठाकुर, कमलजंग कुँवर तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका चिफ एचआर एन्ड स्ट्राटेजी प्रमुख प्रवास राई प्यानलिस्टका रूपमा सहभागी थिए । कार्यक्रमको सहजीकरण समीक्षा पाण्डेले गरेकी थिइन् । प्यानलिस्टहरूले आफ्नो संघर्ष, अनुभव, नेतृत्व विकास र सफलताका यात्राबारे अनुभव साझा गर्दै युवाहरूलाई लक्ष्यप्रति प्रतिबद्ध रहन प्रेरित गरेका थिए ।

फाइनल प्रतिस्पर्धामा सहभागीहरूले ‘भोलिको नेपाल, पुर्खाको इतिहास र वर्तमानका हामी’ विषयमा ६ मिनेटभित्र आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा अमर खत्री, डा. आविष्कार पराजुली र माधव बेलवासे रहेका थिए । प्रमुख निर्णायक अमर खत्रीका अनुसार विषयवस्तु तथा सन्देशलाई ३० अंक, प्रस्तुतीकरणलाई २५ अंक, भाषा तथा उच्चारणलाई २० अंक, मौलिकता तथा सिर्जनशीलतालाई १५ अंक तथा समय व्यवस्थापनलाई १० अंक छुट्याएर कुल १०० पूर्णाङ्कका आधारमा मूल्याङ्कन गरिएको थियो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले युवाहरूलाई अनुशासित, आत्मविश्वासी तथा नेतृत्वदायी बनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सहभागी सानिया पठान र आइश्का ढकालले प्रतियोगिताबाट प्राप्त अनुभव, सिकाइ र आत्मविश्वास वृद्धिका विषयमा आफ्ना धारणा राख्दै यस्ता कार्यक्रमले युवाहरूलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने बताएका थिए ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका पूर्वअध्यक्ष जीवनप्रसाद अधिकारी, रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानका आइपिडीआरआर विक्रम क्षेत्री, डीआरआर नोमिनी गौरव सुवेदी, मुख्य प्रशिक्षक रमेश अर्याल, रोटरी क्लब अफ बुटवल डाउनटाउनका प्रेसिडेन्ट नोमिनी तथा बीबीसी ग्लोबल एजुकेशनका सञ्चालक डीबी रायमाझीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितासँगै आयोजित सांस्कृतिक कार्यक्रममा गायक बसन्त श्रेष्ठले सांगीतिक प्रस्तुति दिएका थिए भने अलिशा सुवेदीलगायतका कलाकारहरूले नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष बाबुराम बन्जाडे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेय, प्रेस चौतारी रुपन्देहीकी अध्यक्ष भगवती पाण्डेलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव केशव पौडेलले गरेका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ३ : २७ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क