दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक खुल्ला राष्ट्रिय पुरुष शारीरिक सुगठन तथा महिला एथलेटिक फिजिक प्रतियोगिता २०८३’ दांङ घाेराहीमा भव्य रूपमा सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीकाे आयोजना र लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघकाे प्राविधिक सहकार्यमा देशका विभिन्न जिल्ला तथा व्यायामशालाबाट आएका उत्कृष्ट खेलाडीहरू ५१ जनाकाे उत्साहजनक सहभागिता रहेको थियो ।
प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गाैतमकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री माननीय रत्न बहादुर खत्रीकाे प्रमुख आतिथ्यता प्रतियोगिता सम्पन्न भएको थियो । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष सितु प्रसाद श्रेष्ठको संचालनमा भएको साे कार्यक्रममा पुरुष शारीरिक सुगठन तथा महिला एथलेटिक्स फिजिक्स दुवै विधा तर्फ कडा प्रतिस्पर्धा देखिएको थियो ।
प्रतियोगिता अन्तर्गत पुरुष शारीरिक सुगठनतर्फ ५५ केजी तौल समूहमा रुपन्देहीका सुनिल आले प्रथम, दाङका सरोज कँडेल दोस्रो र दाङकै अजम स्वर्णकार तेस्रो स्थान हासिल गर्न सफल भए । ६० केजी तौल समूहको भिडन्तमा नवलपरासीका रेशम रानाले पहिलो स्थान कब्जा गरे भने रुपन्देहीका अमृत गहतराज दोस्रो र बाँकेका करन वादिया तेस्रो स्थानमा रहे। यसैगरी ६५ केजी तौल समूहमा नवलपरासीकै नवराज डुम्रेले स्वर्ण पदक जिते भने दाङका प्रतिक चौधरी दोस्रो र बाँकेका जगत राम महाउत तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए ।
प्रतिस्पर्धालाई अझ रोचक बनाउँदै ७० केजी तौल समूहमा दाङका माधव सुवेदीले प्रथम स्थान हासिल गरे भने रुपन्देहीका नविन श्रीस दोस्रो र हेटौँडाका राहुल कुमार शाह तेस्रो भए । ७५ केजी तौल समूहको प्रतिस्पर्धामा बाँकेका दिपेन्द्र बहादुर क्षेत्रीले बाजी मार्दै पहिलो स्थान सुरक्षित गरे भने रुपन्देहीका दिनेश रिमाल दोस्रो र तनहुँका शिशिर थापामगर तेस्रो स्थानमा रहे । पुरुषतर्फकै सबैभन्दा भारी अर्थात् ७५ केजीभन्दा माथिको तौल समूहमा दांङका दिपजंग रोकामगर प्रथम, रुपन्देहीका कुशल प्रसाद गुरुङ दोस्रो र बागलुङका सन्जोग बुढामगर तेस्रो हुन सफल भए ।
यता महिला एथलेटिक फिजिकतर्फको प्रतिस्पर्धामा पनि खेलाडीहरूबीच निकै कडा प्रतिस्पर्धा भएको थियो । अन्तिम नतिजा अनुसार नवलपरासीकी रबिना कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरिन् । त्यसैगरी रुपन्देहीकी चुनकुमारी पुनले दोस्रो स्थान प्राप्त गरिन् भने दाङकी उर्मिला बस्नेत तेस्रो स्थान हासिल गर्न सफल भइन्। विजेता महिला खेलाडीहरुले क्रमशः २० हजार , १० हजार र ५ हजार नगद, ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरे ।
७० केजी वजन समुहबाट समुहगत बिजेता बन्दै च्याम्पियन अफ दि च्याम्पियनमा भिडे्का माधव सुवेदीले अन्तिम स्पर्धामा जित्दैं बाकी ५० खेलाडीहरुकाे चुनाैती पाखा लगाएका थिए । उनले उपाधिसंगै १ लाख नगद, ट्रफी र व्यानेट हात पारे । पुरुष शारीरिक सुगठन खेलका वजन समूह विजेताहरुले क्रमशः १५ हजार दस हजार र पाँच हजार नगद, ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरे ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूलाई कार्यक्रमका अध्यक्ष तिरन गाैतम, प्रमुख अतिथि माननीय मन्त्री रत्न बहादुर खत्री, घाेराही उपमहानगरपालिकाका उप प्रमुख हुमा कुमारी डि सी तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ लगायतले ट्रफी, पदक र प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो ।



















प्रतिक्रिया