चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी रहेको छ । गएराति साढे १२ बजेदेखि सुरु भएको मतदान आज बिहान ११ बजेसम्म सम्पन्न गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । पार्टी विधानअनुसार कुल १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने बाँकी सदस्य पछि मनोनित गरिने व्यवस्था छ ।
यसअघि पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा ८ पदाधिकारी चयनका लागि मतदान हुनेछ ।
मतदान प्रक्रिया अपेक्षाभन्दा ढिलो हुँदा प्रतिनिधिहरूले नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए । त्यसपछि महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा पार्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी नेतृत्व र संगठनात्मक संरचना तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।



















प्रतिक्रिया