९ भदौ २०८३, मंगलबार | August 26, 2026

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड



लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा लमजुङको गाईखुरे झरना पर्न थालेको छ । बेँसीसहर नगरपालिका-१ दलालस्थित डुम्रे-बेँसीसहर सडक छेउमै रहेको त्यस झरनामा दैनिक पाँच सय पर्यटक पुग्ने गरेका पाइएको छ ।

अघिपछि भन्दा सार्वजनिक बिदाका दिन पर्यटकको सङ्ख्या दोब्बर हुने गरेको छ । बेँसीसहर बजारबाट करिब छ किलोमिटरको दूरीमा रहेको करिब एक सय मिटर अग्लो उक्त झरना सहज पहुँचका कारण पर्यटकको आकर्षणको केन्द्र बनेको छ । स्थानीयका अनुसार गत वर्ष साउनपछि मात्रै त्यहाँ हेर्न आउनेको चहलपहल बढ्न थालेको हो । यस वर्ष असार लागेसँगै पर्यटकको उल्लेख्य भीड देखिन थालेको छ ।

स्थानीयका अनुसार मौसम अनुकूल रहे आगामी दिनमा पर्यटकको सङ्ख्या अझ बढ्न सक्नेछ । अग्लो पहराबाट झरिरहेको कञ्चन पानी तलको प्राकृतिक पोखरीमा खस्दा सृजना हुने मनमोहक दृश्यले जोकोहीलाई आकर्षित गर्दै आएको छ । झरनाबाट उड्ने पानीका सङ्ला छिटा घामको किरणसँग ठोक्किँदा देखिने सप्तरङ्गी इन्द्रेणीले सौन्दर्यलाई थप मनमोहक बनाएको छ ।

पछिल्लो दिनमा झरनाको फेदीसम्म पुगेर फोटो तथा भिडियो खिच्ने, सेल्फी लिने र पोखरीमा पौडी खेलेर रमाउने पर्यटकको भीड बढेको छ ।

लमजुङका साथै मनाङ, गोरखा, कास्की, तनहुँ, चितवनलगायत विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक यहाँ आउने गरेका स्थानीयको भनाइ छ । तनहुँबाट आउनुभएकी पार्वती तामाङले आफूले सुनेको र सोचेको भन्दा झरना अझ सुन्दर लागेको प्रतिक्रिया दिए । उनले भने, “गर्मीमा यहाँको चिसो पानीमा पौडी खेल्न, फोटो र भिडियो खिच्न तथा साथीभाइसँग रमाउन निकै आनन्द आयो ।”

झरना घुम्न आएका सृजना श्रेष्ठ, लक्ष्मण गुरुङ, सन्तोष थापा र युनिक गुरुङलगायतले गाईखुरे झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको बताईनन ।

त्यहाँ झरना र प्राकृतिक पोखरीको अवलोकनका साथै पौडी खेल्न र साहसिक खेल क्यानोनिङ सञ्चालन गर्ने सम्भावना छ । नगरपालिकाका सूचना अधिकारी दिपेश घिमिरेका अनुसार चालु आर्थिक वर्षमा रु नौ लाखको लागतमा झरना क्षेत्रमा दुईवटा पोखरी निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयले ‘एक जिल्ला, एक पर्यटन क्षेत्र’ कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षका लागि गाईखुरे झरना विकासमा रु ५० लाख बजेट विनियोजन गरेको छ ।

उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गाईखुरे झरनालाई प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको बताईन । उनका अनुसार मस्र्याङ्दी नदीबाट पानी ल्याई वर्षभरि झरनामा पानी बग्ने व्यवस्था गर्ने, थप पोखरी निर्माण गर्ने, पार्किङस्थल बनाउने तथा क्यानोनिङ र र्याफ्टिङ सञ्चालन गर्ने योजना रहेको छ ।

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले झरनालाई व्यवस्थित गरी पर्यटक आकर्षित गर्न केही वर्षअघि नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको भए पनि काम हुन नसक्दा पूर्वाधार विकासले गति लिन नसकेको बताए । चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ भएकाले यही मार्ग हुँदै यात्रा गर्ने विदेशी पर्यटकसमेत गाईखुरे झरना पुग्ने गरेका छन् ।

यस्तै, मस्र्याङ्दी गाउँपालिका-४ स्थित अक्टोपस झरना, बुङ झरना तथा वडा नं. ८ भुलभुलेस्थित हामखोला झरनामा पनि पर्यटकको चहलपहल बढेको छ । बेँसीसहर-चामे सडक हुँदै मनाङ जाने आन्तरिक तथा विदेशी पर्यटकले ती झरनामा समेत अवलोकन गर्ने गरेको मस्र्याङ्दी गाउँपालिका अध्यक्षका स्वकीयसचिव प्रदीप गुरुङले बताए । पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले प्राकृतिक सम्पदाको संरक्षण, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके पर्यटकको आगमन अझ बढ्ने तथा स्थानीय व्यवसायसमेत फस्टाउने विश्वास व्यक्त गरे ।

प्राकृतिक सौन्दर्य, सहज पहुँच, बढ्दो आन्तरिक पर्यटकको आकर्षण तथा सरकारी लगानीसँगै गाईखुरे झरना लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने स्थानीयको विश्वास छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ३ : २८ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त