म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) पाँच लाख ५ हजार रुपैयाँको बोलकबोल भएको छ ।
मंगलबारको कालरात्रीमा भएको खुला बडीबढाउमा (एकघण्टाको समय सिमा) रघुगंगा गाउँपालिका– २ साझपानी निवासी सविससिङ (शिव) भण्डारीले सबैले भन्दा धेरै पाँच लाख ५ हजार रुपैयाँ रकम तिर्ने कबोल गरेर सरकारी राँगोको मार हान्ने पक्का भएको हो ।
प्रतिस्पर्धामा सविससिङ भण्डारीको वारिशमा गोपाल भण्डारी बोलेका थिए । पुजा समितिले सरकारी राँगोको बढीबढाउ सुरुवाती मूल्य ५० हजार रुपैयाँबाट सुरु भएको थियो ।प्रतिस्पर्धामा रघुगंगा गाउँपालिका ३ छायाँपानी निवासी उमेश आचार्य पाँच लाख १ हजार बोलेर पछ्याएका थिए । कोत मन्दिरमा कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ ।
गतवर्ष रघुगंगा गाउँपालिका– २ नागनागी निवासी भगवान खत्रीले चार लाख ९२ हजार रुपैयाँमा सरकारी राँगोको मार हानेका थिए । २०८१सालमा रघुगंगा गाउँपालिका– ३ कलेजबाङ निवासी सोवित भण्डारीले ४ लाख ७१ हजार, २०८० सालमा रघुगंगा गाउँपालिका– २, सिजलगाउँ निवासी एकेन्द्र भण्डारीले ३ लाख ३० हजार रुपैयाँ, २०७९ सालको सचिन केसीले रु ३ लाख १५ हजार, २०७८ सालमा आरेन खड्काले ३ लाख रुपैयाँ बोल गरी सरकारी मार हानेका थिए ।
नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिहरुको मनोकंक्षा पुरा हुने जनविश्वासका कारण आकाँक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउ मार्फत छनौट गरिएको भगवती कोतमन्दीर पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र मल्लले जानकारी दिए ।
यो क्षेत्रकै ऐतिहाँसिक कोत मन्दीर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक बर्ष सरकारी मार हान्न आकाँक्षा राख्नेहरुको संख्या र बोलकबोल रकम समेत बढ्दै गएको छ ।
‘‘यहाँ सरकारी मार हानेका व्यक्तिहरु सबैको उन्नती प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बली चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो’’ व्यवस्थापन समितिका अध्यक्ष मल्लले भने ।
तत्कालिन बाइसे÷चौबिसे राज्यकालदेखी यहाँको कोतमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन रहँदै आएको छ । नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछी पुजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ ।
: पत्रकार कमल खत्रीको वालबाट


















प्रतिक्रिया