२ कार्तिक २०८३, सोमबार | October 19, 2026

दशैंको दशा



रसुवा रोएको छ । नुवाकोटको मुटुको घाउ चहराएको छ । धादिङ र गोरखाको आँखाको आँशु उभाउन नपाँदै फेरि काली, मादी र बुढीगण्डकीको त्रासदीले मन छियाछिया भएको बेला दशैं दशा बनेर उपस्थित भएको छ । घरवास, आफन्त, खेतबारी सबै गुमाएर शोकमा डुबेकोे देशमा दशैंले दैलामा नटेकिदिए पनि हुने नि !

विगत एक वर्षदेखि देशलाई दशा लागेको छ । गतवर्षको जेनजी आन्दोलनले खरवौंको राष्ट्रिय सम्पति, सम्पदा र नागरिकको क्षती भयो । यसपटक भोटेकोशीमा आएको हिमपहिरोले दशौंहजार घरपरिवारलाई बगाएर लग्यो । कतिको शीरको सिउँदो पुछियो । कतिका बालबालिका टुहुरा भए । कति बुढाबुढी बेसहारा बने । घरबास विहीन हजारौं परिवारले आँखा अगाडि वाढीमा बगेका आफन्तको पीडादायक दृश्य सम्झेर टोलाइरहेको समयमा फेरि काली, मस्र्याङ्दी र बुढीगण्डकीमा त्यसै प्रकारको दर्दनाक प्राकृतिक प्रकोपले दशौं हजार घरपरिवारलाई उठिवास लगायो । यो राष्ट्रिय शोकको घडीमा मनमा सन्ताप भएको समयमा दशैंको कुनै उत्साह छैन । तर पनि बाँचेकाले परस्पर धानिदिनुपर्ने भएकोले अमिलो मन बोकेर दशैंको मुखमा आइपुगेका छौ ।

दशैं आयो खाउँला पिउँला, कहाँ पाउँला ? चोरी ल्याउँला, धत् पापी चोर्न भन्दा छुट्टै बसौला ।’ हामी साना छँदा कान्छी औलाबाट गन्दै जाँदा पाँचैमा बुढी औला पर्छ । त्यसैले बुढी औला चोर्न भन्दा छुट्टै बसौला भन्दै अलग भएको भनिन्थ्यो । यो भनाइले दशैंको दशा र गरिबीको सामाजिक अवस्थालाई बताउँछ । देशलाई नै दशा लागेको बेला दुःखी गरिबको हालत के होला ? यो साल त दशैं न आएको भए पनि हुन्थ्यो भन्ने लागेको थियो । तर ….

यो वर्ष दशैं झन ठूलो दशा बनेर आएको छ । सरकारले लखेटेर होल्डिङ् सेल्टरभित्र थुनिएका सुकुम्वासीको लागि दशैं कति पीडादायक बनेको होला ? अनुमान गर्न कठिन छ । मीठोचोखो खाने, नानाचाचा फेर्ने र ठूलावडाको आशीर्वाद थाप्ने चाडमा निरीह जीवन वाँचेका नागरिकलाई के को दशैं । गच्छे अनुसारको दशैं मनाउने अवसरबाट विचलित बनायो दैवले ।

छोरीहरू फाटेको जामा फेर्न आतुर छन् । छोराहरू जाँगे र कमिजको प्रतीक्षामा छन् । आमद इज्जत अनुसार परविारलाई एकसरो न्यानो कपडाको व्यवस्था गरिदिने जिम्मेवारी अविभावकको काँधमा आएको छ । ‘खानेलाई यति जावो कमाउनेलाई कति गाह्रो’ भन्छन् । आफ्ना नानीहरू, जहान परिवारको मन वर्ष दिनको चाडमा खुसी पार्ने रहर कसलाई हुदैन र ? नानीहरूको मन कुढिदा घर मुलीलाई कति पीडा हुन्छ भन्ने कुरा मैले भोग्दै आएकी छु । सबै रमाउने चाड हो यो तर सैबलाई पुगिसरी कहाँ आउँछ र ? आज मन कुँढाउने बाबुआमा गुमाएका टुहुरा नानीहरूको आँसु पुछिदिने कोही छैन भन्नु पर्दा मन धर्केर आउँछ ।

श्रमिक, मजदुर, किसानका लागि समय समयमा आराम गर्ने र रमाउने अवसर दशैंमा मात्रै जुरेको हुन्छ । बर्खाको कामको बोझबाट अलि फुर्सदको समय भनेको किसानका लागि असोज महिना हो । खेतीपातीको काम सकिएको हुन्छ । अँध्यारो बर्खा सकिएर रमाइलो शरद सुरु हुन्छ । यो मौसम साँच्चै उज्यालो मौसम हो भन्ने लाग्छ । न जाडो न गर्मी, न हिलो न धँुवा धुलो । न कामको चापाचाप राम्रो समय छानेर दशैं मनाउने चलन चलाएका रहेछन् पुर्खाहरूले । दशैं हाम्रो खुसी हुने अवसर हो, परम्परा र संस्कृति हो । चाडवाड मनाएर केही समय रमाउनु पर्छ खुसी साटनुपर्छ । दशैं त्यही खुसी साट्ने चाड हो । आन्तरिक उर्जा भर्ने अवसर पनि हो भन्ने लाग्छ ।

समय परिवर्तन भएको छ । हिजोसम्म मानिस खेतीपातीमा मात्र सीमित थियो । तर आज खेतीपाती बाहेक अरू व्यवसायमा लाग्नु पर्नेभयो । देश विदेशको अवसर खुल्यो । आज हाम्रा छोराछोरीहरू संसारका विभिन्न देशमा पुगेर पसिना बगाइरहेका छन् । संसारमा इमान्दार जातिको पहिचान बनाउँदै पसिना पोखेर कमाई गर्छन् र त्यही चोखो पसिनमा रमाउँछन् । ४५–५० डिग्रीको खाडीको रापमा युवकहरूको शरीर डढेको छ ।

यता दशैंमा जहान छोराछोरी र वुढा वुढीले परदेशीको बाटो पर्खिबसेका हुन्छन् । उता परदेशी छोरा घर परिवार सम्झेर तड्पिरहेका हुन्छन् । आफ्नो लाम्टो चुसाएर तोपेका सन्तानको बाटो हेरेर बसेका वुढावुढी अर्को दशैं देख्न पाइने हो कि होइन भन्दै सुस्केरा हाल्छन् ।

दैनिक हजारौं बुवा बाहिरिन्छन् । आमा बाबुको थाप्लोमा परेको ऋणको भारी कम गर्न र दशैं जस्ता चाडपर्व राम्रोसित मनाउने, परिवारको नाङ्गो शरीर ढाकेर इज्ज्जत जोगाई दिने उद्देश्य र उत्साह बोकेर जान्छन् । कतिले जाहान परिवारलाई बिर्सेर उतै वेपत्ता हुन्छन् । कति बाकसमा बन्द भएर अन्तिम संस्कारको लागि विमानस्थलदेखि आर्यघाट सम्मको यात्रा गर्छन् । यो दृश्य देखेका बाबुआमाको जीवनमा कहिले पनि दशैं आएन । गरिबका लागि दशैं आएछ जान्छ, रहर सधैं वासी हुन्छन् ।

यहाँ दुःख पाएर रोजगारी खोज्दै विदेशिएकाहरूले दुःखजिलो गरेर इमानको कमाइ पठाएको पैसाले देशको अर्थतन्त्र टिकेको छ । त्यही पैसाले घरव्यवहार चलेको छ । सरकार पनि यसैले चलेको छ भन्छन् । तर अर्को थरी भने उताबाट आएको पैसा हात पारेर उतै लगेर दशैं मनाउँछन् ।
हामी मणि हराएको सर्प झै भौतारिएका छौ । कस्तुरीको भेउ पाउँदैन कस्तुरी मृगले र सिकारीको सिकार बन्छ । त्यस्तै हामी पनि कस्तुरी जस्तै बनेर सिकारीको सिकार बनेका छौ । हाम्रो वरीपरी रोजगारीका अथाह सम्भावनाहरू छन् । सरकारले देश भित्रै रोजगारीका अवसर बनाएर युवाहरूलई राष्ट्र निर्माणमा लगाउनुपर्नेमा विदेश पठाए पैसा बुझ्न सजिलो ठानेको छ । देशको यस्तै आर्थिक सामाजिक अवस्थामा हरेक वर्ष दशैं आउँ छ कतिको घरमा मासुभात हुन्छ । धेरै नेपाली आमाको आखामा आँशु बहन्छ ।

दशैं हाम्रो ठूलो चाड हो । हामी सबैले उल्लासमय तरिकाले मनाउन पाउनुपर्ने हो । हुनेखाने छरछिमेकीले तडकभडक देखाउँछन् । ‘हुनेलाई माथैमाथ नहुनेलाई पुर्पुरा हात’ भन्छन् । सरकारले गरिबको थाप्लोमा ऋण माथि ऋण थप्दैछ । जनताले नखाएको ऋणको भारी बोक्दै छन् । ऋणको बोझ कति पीडादायक हुन्छ भन्नेकुरा भुक्तभोगीलाई मात्रै थाहा हुन्छ ।

धनीमानीहरूले हाम्रा चाडपर्वलाई बिटुल्याउँदै छन् । विकृत बनाउँदै छन् । दशैंमा जम्मा हुने, जुवा खेल्ने, रक्सी र वियरका कार्टुनका कार्टुन भित्राउने, मातिने र यसै बेला महिला हिंसा र हत्याका घटना हुने गरेका छन् । शहरको रोग क्रमशः गाउँघरतिर पनि फैलिन थालेको छ । यसै अवसरमा हुलहुज्जत, चोरी, हत्या, अपराधका घटना पनि थपिन थालेका छन् । यो राम्रो होईन ।

दशंै असोज कार्तिकतिर पर्छ । असाध्य रमाइलो मौसम हो यो । दशैमा लठे पिंगमा विशेष केटाकेटी खुबै रमाउँछन् । एकपटक परिवार जम्माहुने, भेटघाट गर्ने, मान्यजनबाट टीकाजमरा लगाएर आशीर्वाद थाप्ने चलन रहदैआएको छ । दशैंमा विषेश महिला शक्तिको महिमालाई महत्व दिइएको छ । मातृ शक्तिको सम्मानका लागि चलाइएको विषेश चाड पनि हो पनि भनिन्छ ।

दशैंमा लाखौं पशुको हत्या हुन्छ । बलियोले निर्धाको घाँटी रेट्ने वैदिक परम्पराले हिंसा र पशुवलीलाई प्रोत्साहन गरेको देखिन्छ । दशैं मातृ शक्तिको प्रतीकको रूपमा मनाउनु राम्रो हो । मातृ शक्ति अन्तिम निष्कर्षमा सबभन्दा शक्तिशाली छ । तर त्यसलाई पुरुष जातिले सबभन्दा कमजोर बनाएको छ ।

हामी दशैंलाई संस्कृतिको रूपमा वर्षको एकपटक सबै परिवार जम्माहुने, खानेपिउने र आफ्नै पसिनामा रमाउने चाड हो । दशैं मनाउने शैली र समझ फरक हुनसक्छ । हामीले हाम्रा परम्परा र संस्कृतिलाई युग सापेक्ष परिमार्जन गर्दै जानु उचित देखिन्छ ।

विगत एक वर्षदेखि देश धुँवा, खरानी र भेलबाढीको चपेटामा परेको बेला यस पटकको दशैंमा मन पटक्कै रमाएको छैन । मानवीय समवेदनाको घडीमा दशैं दशाको रूप लिएर पीडितको आगनमा उभिएको अनुभूति हुन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ७ : १३ बजे

सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम । धनुषाको धनुषाधाम-सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५

परदेशी घर फर्किए, दशैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । नेपालीको महान् पर्व बडादशैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं । आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको

दरवाङमा सडक कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङमा सडक पुगेको करिब दुई