९ कार्तिक २०८३, सोमबार | October 26, 2026

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा


३२ असार २०८३, बिहिबार  

156
Shares

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समेत भएको थियो ।

उद्योग सञ्चालक गृष्म सुब्बाले उद्योगद्वारा उत्पादित अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान र जर्मनीका बजारमा बिक्री हुने गरेको जानकारी दिएका छन् । इलाम नगरपालिका–४ जस्बिरे गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने हरियोपत्ती र उद्योगकोे ६० रोपनी तथा भाडामा लिएको ४०० रोपनी जमिनमा उत्पादन हुने हरियोपत्ती प्रशोधन भइरहेको उहाँले बताए ।

“वार्षिक ३० हजार केजी अर्गानिक अर्थोडक्स चिया उत्पादन भइरहेको थियो । यस वर्षदेखि उत्पादन क्षमता बढाएर एक लाख केजी पु¥याउने तयारी छ”, सञ्चालक सुब्बाले भने, “दुई बर्षअघि भएको आगलागीमा रु आठ करोड बराबरको क्षति बेहोरेर फेरि शून्यबाट यात्रा सुरु गरेका हौँ ।”

एक दशकअघि रु १४ लाखको लगानीबाट सुरु गरिएको जस्बिरे चिया प्रशोधन उद्योग अहिले रु आठ करोडको लगानीमा विस्तार भएको छ । उद्योगको सबैभन्दा ठूलो विशेषता ‘स्पेशल टी’ हो । वार्षिक सात हजार केजी उत्पादन हुने यो चियामध्ये करिब दुई हजार केजी सुइरोबाट मात्र तयार गरिन्छ । उद्योगले प्रतिकेजी रु १५ हजारमा बिक्री गर्ने यही चिया विदेशी बजारमा रु एक लाखसम्ममा पुग्ने उद्योगका अर्का सञ्चालक सरद सुब्बा बताउँछन्।

“नेपालसँगै अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क र जर्मनीसम्म जस्बिरे चियाले बजार बनाएको छ ।” शरदले भने, “विदेशमा पुगेपछि हामीले रु १५ हजार प्रतिकेजी बेचेको चिया रु एक लाखसम्ममा बिक्री भएको छ ।”

उद्योगको सफलतामा सुब्बा परिवारका सबै सदस्यको भूमिका छ । ‘नेपाल टी च्यालेन्ज–२०२४’ का ‘बेस्ट टी मेकर’ शरद् सुब्बाले चियाको गुणस्तर सम्हालिरहेका छन् भने अन्य सदस्यले बजार व्यवस्थापन, प्राविधिक पक्ष र अन्तरराष्ट्रिय प्रवद्र्धनमा जिम्मेवारी बाँडेका छन् । विसं २०४२ मा स्वर्गीय भैरव रिसालले सुरु गराएको चियाखेती विस्तारको अभियान आज फैलिरहेको हो । रिसालले यहाँ आउँदा आलुखेती मात्र होइन चिया रोप्न पनि सिकाएका थिए । त्यतिखेर चियाखेतीबारे ज्ञानआर्जन गरेकाका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरूले चिया उद्योग नै सञ्चालन गर्लान् भन्ने लागेको थिएन ।

तर, अहिले उनका छोराहरूले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ चिया उद्योगका क्षेत्रमा ‘ब्रान्ड’ बनेको हो । सूर्यका चार भाइ छोरा छन् । त्यसमध्येका जेठो र माइलो शरद् र गृष्मले १० वर्षअघि जम्मा रु १४ लाख लगानीमा उद्योग सुरू गरेका थिए।

गृष्मले उद्योगको बजार व्यवस्थापन गर्छन् । शरद् नेपालकै ‘बेस्ट टी मेकर’ हो । उनले चिया बनाउन थालेको २० वर्ष भइसकेको छ । उद्योगमा उत्पादन हुने सबै किसिमका चिया शरद बनाउँछन्। साहिँला छोरा निर्विकल्पको काम उद्योगको प्राविधिक पाटो हेर्ने हो । कान्छा छोरा विकल्प अस्ट्रेलियामा मार्केटिङ अध्ययनरत छन् । गृष्मका छोरा कर्म पनि भर्खरै पढाइ सकेर उद्योगमा काम गर्न आएका छन् । उनको काम विदेशी पाहुनालाई चियाको बारेमा जानकारी दिनु हो ।

यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । एक वर्षमा ‘स्पेशल टी’ मात्र सात हजार केजी उत्पादन हुन्छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ९ : ५० बजे

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा