नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवस मनाएका छन् । जनस्तरबाट गठित नागरिक सरोकार मञ्च बाँकेको आयोजनामा जिल्लामा रहेका सबै वामपन्थी राजनीतिक दलका नेताहरु एउटै मञ्चमा बसेर पुष्पलाल स्मृति दिवस मनाएका हुन् ।
स्मृति दिवस समारोहमा बोल्ने वक्ताहरुले खुद्रा पसल खोलेसरह अलग अलग कित्तामा रहेर नेपालमा कम्युनिष्ट आन्दोलन सफल नहुने धारणा राखे उनीहरुले राष्ट्रियता र जनजीविकाको सवालमा वाम दलहरु एक ठाँउमा भिन सक्नु पर्ने बताए । कम्युनिष्ट पार्टीको विभाजनले राष्ट्रियता कमजोर बन्दै गएको भन्दै दलका नेताहरुले वामपन्थीहरु एउटै कित्तामा उभिन सकेमात्र राष्ट्रियता बलियो बन्न सक्ने निस्कर्ष निकालेका छन् ।
कम्युनिष्ट शक्ति एक हुँदा जनताले दुई तिहाई मत दिएको र विभाजन हुँदा सजाँय दिएको उनीहरुको धारणा छ । बाँकेका कम्युनिष्ट नेताहरुले कम्युनिष्ट पार्टीका नेताहरुले जसरी पनि पैसा कमाउनु पर्छ भन्ने दिशाचर्फ लागेकाले कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको बताए ।
पुष्पलालसंग लामो समय सहयात्रा गरेका बाँकेका पुराना कम्युनिष्ट नेता डा. बाबुराम गौतमले उचित अनुचित जे गरेर पनि पैसा कमाउने कर्ममा लागेका कारण कम्युनिष्ट शक्ति कमजोर भएको बताए । उनले पुष्पलालले कम्युनिष्ट पार्टीका नेताहरुलाई अनुचित काम गरेर पैसा कमाउन नहुने सन्देश दिएको स्मरण गर्दै कम्युनिष्ट पार्टीका सदस्यहरु जनताको सेवक बन्नु पर्ने बताए ।
अर्का पुराना कम्युनिष्ट नेता तिलक परियारले संयुक्त जनआन्दोलन गरेर पञ्चायती व्यवस्थाको अन्त्य गर्ने प्रस्ताव गर्दा पुष्पलाललाई कांग्रेस परस्त र भारतीय एजेन्टको आरोप लगाइएको गुनासो गरे । उनले आलपिनले बुढी औंठामा घोँचेर रगतको ल्याप्चे लगाएर पुष्पलालको हातबाट आफुले कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेको स्मरण गरे ।

बाँकेमा क्रियाशील कम्युनिष्ट पार्टीहरुका जिल्ला अध्यक्ष, जिल्ला कमिटी सदस्य, जिल्लास्थित केन्द्रीय तहका नेता, विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्य र बौद्धिक व्यक्तित्वहरूको लाई सहभागी गराएर मनाइएको स्मृति दिवस समारोहमा सहभागीहरुलाई स्वागत गर्दै मञ्चका संयोजक मधुसुदन शर्मा रिजालले राष्ट्रियता कमजोर हुँदै गइरहँदा वामपन्थी शक्तिहरु एकैठाउँमा उभिएर आत्मसमीक्षा गर्न जरुरी भएको बताए । वर्तमान राजनीतिक परिस्थितिका बीच पुष्पलालको योगदानको स्मरण गर्दै वामपन्थी शक्तिहरूबीच संवाद र सहभागितालाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक रिजालले जानकारी दिए ।
‘वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरले विषय प्रवेश गराउँदै कम्युनिष्ट विभाजनको औचित्य खोज्न वा राष्ट्रिय हीतमा कार्यगत एकता गर्दै अगाडी बढ्न आवश्यकता बोध गर्न यसखालको कार्यक्रम गरिएको बताए । उनले बाँके जिल्लाबाट वाम शक्तिहरु एकजुट हुन आवश्यक रहेको आवाजलाई स्थापित गर्न दलका जिल्ला नेताहरुले चुनौती स्वीकार गर्नु पर्ने औंल्याए ।
पुष्पलालको विचारलाई नै कार्यक्रमको सभापति बनाइएको कार्यक्रममा मञ्चका सदस्य दीपक बहादुर शाहीले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । पत्रकार एवं वाम बुद्धिजिवी झलक गैरेले कार्यक्रमको सहजीकरण गरेका थिए ।




















प्रतिक्रिया