काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका-५ का २३ वर्षीय आषिश पाण्डे, सोही स्थानका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
निजहरूले कृष्णनगर नगरपालिका-८ बहादुरगञ्जमा पेस्तोल देखाई डर, धम्की दिई हिँडिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको टोलीले पेस्तोलसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु६१प ७०७२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद
प्रहरीले आज बिहान धादिङको गङ्गाजमुना गाउँपालिका-७ सुकौराबेँसी तिसमुरेस्थित जङ्गलको ओढारबाट एकनाले भरूवा बन्दुक एक थान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
त्यस्तै, प्रहरीले प्युठानको झिमरूक गाउँपालिका-४ छहरापातलस्थित हरिया पातल सामुदायिक वनबाट भरूवा बन्दुक दुई थान र गुल्मीको मदाने गाउँपालिका-२ र ५ बाट भरूवा बन्दुक दुई बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


















प्रतिक्रिया