
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको करिब चार महिनापछि प्रधानमन्त्री शाहले नेपालस्थित विदेशी कूटनीतिज्ञसँग पहिलोपटक एकल भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ता ४५ मिनेटसम्म चलेको थियो ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री बालेन्द्रले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका छन् । नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा राजदूत श्रीवास्तवले सम्माननीय प्रधानमन्त्रीज्यूलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
भारतीय राजदूत श्रीवास्तवसँगको भेटपछि उनले चिनियाँ राजदूत झाङ माओमिङसँग समेत छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यसअघि प्रधानमन्त्री शाहले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग व्यक्तिगत रूपमा भेट नगर्ने नीति अपनाएका थिए। सरकार गठनको प्रारम्भिक चरणमा उनी विदेशी कूटनीतिज्ञसँग सामूहिक भेटवार्तामै सीमित थिए। गत अप्रिलमा उनले नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक शिष्टाचार भेट गरेका थिए।
तर सरकारको सय दिन पूरा भएपछि प्रधानमन्त्री शाहले आफ्नो कूटनीतिक कार्यशैली परिवर्तन गर्दै विदेशी राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तयारी अघि बढाएका थिए। जुलाईमै प्रधानमन्त्रीको सचिवालय र कूटनीतिक स्रोतलाई उद्धृत गर्दै भारतीय र चिनियाँ राजदूतसँग एकल भेटको तयारी भइरहेको समाचार सार्वजनिक भएको थियो।


















प्रतिक्रिया