६ भदौ २०८३, शनिबार | August 22, 2026

पहिरोले विभिन्न सडक अवरुद्ध



काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०५ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।

काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति १७ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

नुवाकोटको टोखा-छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म आवागमन बन्द गरिएको छ ।

उक्त सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारीसाधन चलाउन नपाइने जनाइएको छ । इलाम नगरपालिका-९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका-२ लिपिङस्थित सडक भासिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै, गोसाइकुण्ड गाउँपालिका-२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट-डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लमजुङको बेँसीसहर-मनाङ सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका-४ रामबजारमा पनि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, रोल्पा र पाल्पाका दुई प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । रोल्पाको माडी गाउँपालिका-६ झकलीमा रुखसहितको पहिरो खस्दा घोराही-थवाङ-रुकुम सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा आज बिहान भूक्षय भएको हो ।

सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधानकार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ७ : ४० बजे

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई-परफर्मेन्ससँग भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’

पत्रकार महासंघ रुपन्देहीद्वारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३ औँ राष्ट्रपतिमा मिर्जा