८ भदौ २०८३, सोमबार | August 24, 2026

पर्सा राष्ट्रिय निकुञ्जमा ‘सिए टिएस’ प्रमाणीकरण



जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तरराष्ट्रिय मापदण्ड अनुकूल बनाउन बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तरराष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ ।

सन् २०२२ मा ४१ वयस्क बाघ रहेको पर्सा निकुञ्जमा सन् २०२६ को गणनाअनुसार बाघको सङ्ख्या ७१ पुगेपछि संरक्षण उपलब्धिलाई दीर्घकालीन र गुणस्तरीय व्यवस्थापनमा रूपान्तरण गर्न सिए टिएस प्रक्रिया अघि बढाइएको हो ।

यसै क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा पर्सा राष्ट्रिय निकुञ्जमा सम्पन्न सिए टिएस कार्यशालामा विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, जेडएसएल नेपाल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सुरक्षा निकाय, निकुञ्जका कर्मचारी, उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाको सहभागिता थियो ।

कार्यशालामा सिए टिएसको प्रारम्भिक तयारी, स्वमूल्याङ्कन, व्यवस्थापन सुधार, प्रमाण सङ्कलन तथा सरोकारवालाबीच समन्वयका विषयमा छलफल भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए ।

कार्यशालामा वरिष्ठ इकोलोजिष्ट आचार्यले बाघको सङ्ख्या बढ्नु मात्र पर्याप्त नभई त्यसलाई दीर्घकालसम्म टिकाइराख्न बासस्थान, आहारा, सुरक्षा तथा समग्र व्यवस्थापनको गुणस्तरमा निरन्तर सुधार आवश्यक रहेको बताए । उनले सिए टिएसले बाघको सङ्ख्या मात्र नभई बाघ संरक्षणका लागि आवश्यक समग्र व्यवस्थापन प्रणालीलाई अन्तरराष्ट्रिय मापदण्डका आधारमा मूल्याङ्कन गर्ने भएकाले पर्साका लागि यो महत्वपूर्ण अवसर भएको बताए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत खतिवडाले सन् २०२२ देखि २०२६ सम्म पर्सामा बाघको सङ्ख्या ४१ बाट बढेर ७१ पुग्नु संरक्षणको महत्वपूर्ण उपलब्धि भए पनि अबको चुनौती बाघसँगै स्थानीय समुदायलाई सुरक्षित राख्नु रहेको बताए । उनले संरक्षणबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनका अनुसार निकुञ्जको ‘बाघ मित्र अभियान’लाई सिए टिएस प्रक्रियासँग जोडेर मानव–बाघ सहअस्तित्व, समुदायको सुरक्षा, सचेतना तथा सहभागितालाई थप प्रभावकारी बनाउन सकिन्छ ।

कार्यशालामा सहभागी सरोकारवालाले सिए टिएसलाई निकुञ्जले प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियाका रूपमा मात्र नभई निकुञ्ज, मध्यवर्ती क्षेत्र, सुरक्षा निकाय, संरक्षण साझेदार तथा स्थानीय समुदायको साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

सिए टिएसले बाघको सङ्ख्या मात्र नभई बासस्थान, आहारा, सुरक्षा, व्यवस्थापन, वैज्ञानिक अनुगमन, समुदायको सहभागिता, मानव–बाघ द्वन्द्व, पर्यटन तथा बाघको दीर्घकालीन अवस्थालगायत विषयको समग्र मूल्याङ्कन गर्नेछ ।

अब दर्ता, स्वमूल्याङ्कन, सुधार योजना निर्माण, अनुपालनसम्बन्धी दस्तावेज तयारी, राष्ट्रिय समीक्षा, स्वतन्त्र मूल्याङ्कन तथा अन्तरराष्ट्रिय निर्णयसम्मको प्रक्रिया अघि बढाइनेछ । यस क्रममा बासस्थान तथा आहारा संरक्षण, चोरी–सिकार नियन्त्रण, स्मार्ट पेट्रोलिङ, मानव–बाघ द्वन्द्व व्यवस्थापन, वैज्ञानिक अनुगमन तथा समुदाय सहभागितालाई प्राथमिकता दिइने प्रमुख संरक्षण अधिकृत खतिवडाको भनाइ छ ।

बाघको सङ्ख्या बढ्दै गएको अवस्थामा सिए टिएस प्रमाणीकरण प्रक्रियाले पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण व्यवस्थापनलाई थप वैज्ञानिक, व्यवस्थित र अन्तरराष्ट्रिय मापदण्ड अनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । संरक्षणको सफलता प्रमाणपत्र प्राप्त गर्नुमा मात्र नभई बाघ सुरक्षित, वन क्षेत्र स्वस्थ तथा स्थानीय समुदाय सुरक्षित र संरक्षणका सक्रिय साझेदार बन्नुमा निर्भर रहने उनले बताए ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ९ : ३६ बजे

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार

पर्सा राष्ट्रिय निकुञ्जमा ‘सिए टिएस’ प्रमाणीकरण

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको