काठमाडौं । उद्घाटन भएको करिब एक महिनापछि नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ।
सोमबार बिहानदेखि नौ जनासम्म यात्रु बोक्ने कार, जीप र भ्यानलगायत निजी सवारीलाई सुरुङमार्ग हुँदै काठमाडौं–धादिङ आवतजावत गर्न अनुमति दिइएको हो।
नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी नम्बर प्लेटका सवारी तथा नौ सिटसम्मका निजी सवारीलाई सुरुङमार्ग प्रयोग गर्न दिइएको हो।
यसअघि सुरुङमार्ग उद्घाटन भएदेखि आपत्कालीन सवारीसाधनलाई मात्र यसको प्रयोग गर्न दिइएको थियो। निजी सवारीका लागि भने अहिले परीक्षणका रूपमा निश्चित समय खुला गरिएको हो।
श्रेष्ठका अनुसार परीक्षणबाट प्राप्त अनुभव र समस्याको विश्लेषण गरेपछि सुरुङमार्ग अन्य सवारीका लागि समेत क्रमशः खुला गर्ने तयारी छ। ‘परीक्षणका लागि सञ्चालनमा ल्याएका छौँ। अब यो हप्ता विश्लेषण गर्छौं। चालकलाई सवारी चलाउँदाको समस्या र अनुभव के–के भयो भन्ने बुझ्छौँ,’ उनले भने।
हालका लागि निजी सवारीले सुरुङमार्ग प्रयोग गरेबापत कुनै शुल्क तिर्नुपर्ने छैन। बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्ग सञ्चालनमा रहने बताइएको छ।
यसैबीच, गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सोमबार बिहानदेखि सञ्चालनमा ल्याइएको छ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीका लागि निश्चित सुरक्षा मापदण्ड तोकिएको छ। सवारीको गति प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी हुन नहुने, सुरुङभित्र हेडलाइट बालेर चलाउनुपर्ने, बीच बाटोमा सवारी रोक्न नपाइने तथा ओभरटेक गर्न नपाइने व्यवस्था गरिएको छ।
पैदलयात्री र दुईपांग्रे सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति छैन। त्यसैगरी डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई समेत सुरुङभित्र प्रवेश निषेध गरिएको छ।
करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो। शिलान्यास भएको करिब सात वर्षपछि गत साउन ११ गते यसको औपचारिक उद्घाटन गरिएको थियो।
मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ भने त्यससँगै २.५५७ किलोमिटर लामो आपत्कालीन सुरुङ निर्माण गरिएको छ।
सुरुङमार्ग अहिले परीक्षणका रूपमा निःशुल्क सञ्चालन गरिए पनि नियमित सञ्चालनमा आएपछि विभिन्न सवारीसाधनका लागि शुल्क निर्धारण गरिएको छ।
काठमाडौं भित्रिँदा कार तथा भ्यानले प्रतिपटक ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनिबस र टिपरका लागि भित्रिँदा ११५ तथा बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै, बस र ट्रकले काठमाडौं भित्रिँदा २६० रुपैयाँ तथा बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। हेभी ट्रकका लागि भने भित्रिँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि यसले नागढुंगा खण्डमा हुने नियमित ट्राफिक जाम र यात्रा समय घटाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया