काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन् । उनीहरू बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन् ।
रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय हुँदै आएका छन् । बाढीपछि उनले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका छन् ।
बाढीका कारण विभिन्न क्षेत्रमा क्षति पुगे पनि समय अभावका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछन् ।
टोलीले प्रभावित क्षेत्रमा शीघ्र राहत पुर्याउन तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन आवश्यक निर्देशन दिने बताइएको छ ।

















प्रतिक्रिया