नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना सम्पर्कविहीन अवस्थामा रहेका छन् ।
सम्पर्कविहीन हुनेमा १४ जना पुरुष र १३ जना महिला रहेका छन् । त्यसमा दुई जना भारतीय, २० जना बाँकेका स्थायी र ५ जना अस्थायी बासिन्दा रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा रहेका आफन्त तथा परिवारजनसँग सम्पर्क हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्राप्त विवरणका आधारमा उनीहरू सम्पर्कविहीन भएको जिल्ला प्रशासनले जनाएको हो । बेपत्ता भएका सबैको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले बताए ।
भोटेकोशीमा आएको आकस्मिक तथा अत्यन्त शक्तिशाली बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीका कारण विभिन्न बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन् ।


















प्रतिक्रिया