काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने तय भएका सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका उपकुलपतिहरूलाई पत्राचार गर्दै तत्कालका लागि परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् । मन्त्रालयका अनुसार स्थगित परीक्षाको संशोधित तालिका परिस्थितिको मूल्याङ्कनपछि सार्वजनिक गरिनेछ ।
त्यस्तै, भदौ १२ गते सञ्चालन भएका परीक्षामा विपद्का कारण सहभागी हुन नसकेका परीक्षार्थीका लागि पुनः परीक्षा सञ्चालनको व्यवस्था गर्न पनि विश्वविद्यालयहरूलाई निर्देशन दिइएको छ ।
मन्त्रालयले परीक्षाबाहेक अत्यावश्यक नभएका भेला, गोष्ठी, सेमिनार, सभा तथा सामूहिक कार्यक्रमसमेत हाललाई स्थगित गर्न अनुरोध गरेको छ ।
विपद् प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र शैक्षिक संस्थामार्फत निरन्तर समन्वय गरी आवश्यक सहयोग पुर्याउन तथा प्रभावित विद्यार्थीका लागि मनोसामाजिक परामर्श र अध्ययनको निरन्तरतामा सहजीकरण गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
सरकारले विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ ।
















प्रतिक्रिया