१५ भदौ २०८३, सोमबार | August 31, 2026

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड



नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको बाँकी रहेको सम्पत्तिमाथि समेत तोडफोड भएको छ।

बाढीबाट जोगिएका दुईवटा बसमध्ये पार्किङ गरेर राखिएको एउटा बसमा अज्ञात समूहले राति ढुंगामुढा गरी क्षति पुर्‍याएको हो।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार विदुर नगरपालिका–९, कोलनीस्थित प्लास्टर एरियामा पार्किङ गरिएको बसमा राति ढुंगा प्रहार भएको थियो। ढुंगाले बसका सिसा फुटेका छन् भने बसमा अन्य क्षतिसमेत पुगेको छ।

बाढीबाट विद्यालयको सम्पूर्ण भौतिक संरचना गुमिसकेको अवस्थामा बाँकी रहेका दुई बसमध्ये एउटामाथि समेत तोडफोड भएपछि विद्यालय परिवार थप मर्माहत बनेको छ।

प्रधानाध्यापक दवाडीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालयको सम्पत्तिको सुरक्षा सबैको दायित्व भएको बताएका छन्।

उनले लेखेका छन्, ‘भौतिक सम्पत्तिको रूपमा बचेका दुईवटा बसमध्ये पार्किङ गरिराखेको बसमा ढुंगा हानेर यस्तो हालत बनाइएको छ। यस्तो अवस्थामा सुरक्षा सबैको दायित्व हो भन्ने बुझौँ, धेरै रिस नगरौँ।’

दवाडीले गृहमन्त्री सुधन गुरुङलाई समेत ट्याग गर्दै विद्यालयको सम्पत्तिको सुरक्षाका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बाढीले मेटाएको विद्यालयको अस्तित्व

त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय नुवाकोटको पहिलो विद्यालयका रूपमा परिचित छ। केही समयअघि भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले विद्यालयको भवनसहित सम्पूर्ण भौतिक संरचना तहसनहस बनाएको थियो।

विद्यालय पुनर्निर्माणको चुनौतीबीच बाढीबाट जोगिएका दुईवटा बसलाई विद्यालयको बाँकी भौतिक सम्पत्तिका रूपमा सुरक्षित राखिएको थियो। तर, त्यसमध्ये एउटामाथि पनि तोडफोड भएपछि विद्यालयको पुनर्निर्माणसँगै बाँकी सम्पत्तिको सुरक्षाको विषयसमेत चुनौती बनेको छ।

विद्यालयमाथि प्राकृतिक विपत्तिपछि मानवीय रूपमा भएको यो क्षतिले स्थानीयलाई समेत आक्रोशित बनाएको छ। उनीहरूले घटनामा संलग्न व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।

बाढीपछि नुवाकोटको जनजीवन प्रभावित

त्रिशूली नदीमा आएको बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। सदरमुकाम विदुर र जिल्ला अस्पताल जोड्ने पुलहरूमा क्षति पुगेपछि आवागमन प्रभावित भएको छ।

पुल तथा सडक संरचनामा भएको क्षतिका कारण बिरामीलाई अस्पतालसम्म पुर्‍याउनसमेत समस्या भइरहेको छ। प्राकृतिक विपत्तिबाट जिल्लाको जनजीवन प्रभावित भइरहेका बेला विद्यालयको बाँकी सम्पत्तिमाथि भएको तोडफोडले पीडित विद्यालय परिवारलाई थप मर्माहत बनाएको छ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ९ : ४० बजे

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत